
भरतराज शर्मा (गोपाल) धरान
सुनसरीका धरानमा महिला उद्यमी तथा व्यापार मेला शुरु भएको छ । महिला दिदिबहिनीको महान पर्व तीज नजिकै गर्दा सोही मेलालाई सिर्जनात्मक रुपमा अगाडी बढाउने तथा महिला उद्यमशीलता प्रवद्र्धन गर्ने उदेश्यले महिला सञ्जालको आयोजनामा मेला लगाइएको हो । भद्र ५ गते विहिबार देखि शुरु भएको मेला ३ दिन सम्म संञ्चालन हुनेछ ।
मेलाको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले गर्नु भएको छ । ‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ मेला संचालनमा ल्याएको हो । २५ वटा स्टलमा उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु बिक्री तथा प्रदर्शनीमा रोखेका छन् ।
महिलाद्वारा सञ्चालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एंव लत्ताकपडाहरु,गुडीया लगायतका सामग्री मेलाको आकर्षणका रुपमा रहेका छन । धरान १२ छाता चोक स्थित रहेको स्टलहरुमा महिला दिदिबहिनीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी र बिक्रीको अलावा अन्य समानहरु समेत प्रदर्शनमा राखिएको छ ।
मेलाको अवसरमा उद्यमशीलता सम्बन्धी अबलोकन तथा पर्बद्धन लगायतका विभिन्न कार्यक्रम गरिने सञ्जालकी अध्यक्ष सबिता राईले बताईन् । मेलाको पहिलो दिन बिहिबार बिभिन्न संघसंस्थामा आवद्ध महिला उद्यमीहरुले उपस्थिती जनाएका थिए ।