
नेपाल उद्योग परिसंघले बुधबारदेखि आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना प्रस्तुत (शोकेस) गर्ने भएको छ । प्रदेश–२ बाहेकका ६ वटा प्रदेशका सम्भाव्यता अध्ययन भइसकेका ३३ सहित यति संख्यामा परियोजना शोकेस गर्न लागिएको हो ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादवले भने सम्मेलनकै क्रममा आफूहरूले परियोजना प्रस्तुत गर्ने भनेकोले प्रदेश–२ का कुनै पनि परियोजनाहरू परिसंघले तयार पारेको परियोजनाको सूचीमा छैनन् । शोकेस गरिएकामध्ये २१ परियोजना भने यसअघि लगानी सम्मेलनको क्रममा शोकेस गरिएका परियोजनासमेत हुन । सम्भाव्य अध्ययन भएका ३३ आयोजनाहरूको लागत भने करिब ८ खर्ब छ ।
परिसंघका अनुसार प्रदेश–१ को पहिचान भएका १७ र अध्ययन भएका ७ परियोजना समावेश छन । ३ अर्ब बराबरको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी हल धरान, २ खर्ब १० अर्ब बराबरको वृहत विराट मास ट्रान्सपोर्टेसन परियोजना, १५ अर्ब बराबरको विराटनगर क्षेत्रीय
विमानस्थल, ८ अर्ब बराबरको विराटनगरमा विशेष आर्थिक क्षेत्र, १ खर्ब ५३ अर्ब बराबरको तमोर जलाशय, २० अर्ब बराबरको रुम्जाटार र इटहरीमा मेगा स्मार्ट सिटी तथा २ खर्ब १० अर्ब बराबरको ग्रेटर विराट रिङरोट लगानी सम्मेलनमा शोकेस हुँदैछन ।
त्यसैगरी प्रदेश–३ मा अध्ययन भइसकेका ४ परियोजना शोकेस गर्न लागिएको छ । शोकेस गर्न लागेका परियोजनामा ४४ अर्ब बराबरको पोष्टबहादुर बोगटी सुरुङ मार्ग (काठमाडांै–हेटौडा), २ अर्ब बराबरको हेटौंडा र भरतपुर नगरपालिकाको फोहोर व्यवस्थापन, ४ अर्ब बराबरको अन्तरदेशीय यातायात परियोजना र ५ अर्ब बराबरको दासढुंगा, गजपुर, गोलाघाट, नारायणी नदी पर्यटन परियोजना छन । त्यसैगरी गण्डकी प्रदेशमा ५ अध्ययन भएका परियोजना शोकेस हुन लागेका छन ।
६ अर्ब बराबरको चरीखोला ताल तथा गाईघाट झरना बाग्लुङ, ७ अर्ब बराबरको महाशिला पार्क पर्वत, साढे ६ अर्ब बराबरको भमरकोट ट्रेकिङ रुट पर्वत, २ अर्ब बराबरको प्रदेश औद्योगिक क्षेत्र कास्की र साढे ५ अर्ब भालुपहाड स्याङजा शोकेस गर्न लागेको परिसंघले जनाएको छ ।
त्यसैगरी प्रदेश ५ का ५ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्ब बराबरको प्रदेश इनोभेसन सेन्टर रूपन्देही, ९६ अर्ब बराबरको नौमुरे बहुउद्देश्यीय आयोजना, १० अर्ब बराबरको लाइफ स्टक भ्यालु चेन्ज परियोजना, २ अर्ब बराबरको राप्ती अन्र्तराष्ट्रिय रंगशाला र १।५ अर्ब बराबरको रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र पाल्पा र गुल्मी शोकेस गर्न लागिएको परिसंघले जनाएको छ ।
कर्णाली प्रदेशले पहिचान भएका ६२ र अध्ययन भएका ६ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्बको रत्न प्रोसेसिङ कम्पनी सुर्खेत, २५ अर्बको जगदुल्ला जलाशययुक्त आयोजना डोल्पा, १ अर्बको हिमालय हर्ब मेडिसिन कम्पनी, ४ अर्बको माउण्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी सुर्खेत, १ अर्बको कर्णाली जडिबुटी प्रशोधन कम्पनी र ६४ अर्बको सुर्खेत हिल्सा दु्रतमार्ग शोकेस गर्न लागिएको परिसंघले जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ३ पहिचान भएका र ६ अध्ययन भएका आयोजना शोकेस गर्न लागिएको छ । परिसंघका अनुसार सुदुरपश्चिम प्रदेशमा १० अर्बको सोलार ऊर्जा परियोजना दिपायल सिलगढी, १ अर्बको सिप फार्मिङ एड ऊल उद्योग, ५ अर्बको रामरोशन एकीकृत पर्यटन अछाम, ५ अर्बको बडीमालिका केबलकार बाजुरा, १ – ६ अर्बको सिमेन्ट उद्योग कैलाली तथा १ अर्बको हर्बल उत्पादन, संकलन तथा प्रशोधन परियोजना शोकेस गरिन लागेको छ ।