समाचारसमाज

बम पड्काउँदै उद्योेगीलाई फिरौती माग्ने चार जना पक्राउ

काठमाण्डौं,

विभिन्न उद्योग तथा व्यक्तिलाई फोन गर्दै रकम माग्ने र नदिएपछि बम बिस्फोट गराउँदै हिँडेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले बम पड्काउँदै फिरौती माग्ने समूहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यो समूहले बाराका तीन ठाउँमा बम बिस्फोट गराइसकेको थियो। प्छिल्लो पटक बाराको परवानीपुरको एउटा इँटाभट्टा उद्योगमा बिस्फोट गराएर यो समूहले फिरौती मागेको थियो । घटनापछि उक्त समूहको खोजीमा लागेको प्रहरीले परवालीपुरबाट बुधबार साँझ सो समूहलाई पक्राउ गरेको इलाका प्रहरी बाराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

पक्राउ परेका समूहलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा परवानिपुर गाँउपालिका वडा नं. ४ का ३१ वर्षिय प्रमोद साह, २० वर्षिय देवशंकर राम, जितपुर समिरा उपमहानगरपालिका १० का २० वर्षिय अच्छेलाल गोसाई र फेटा गाउँपालिका ३ का ३९ वर्षीय दीपेन्द्र कुमार धानुक छन्।् ।

डिएसपी पुरीका अनुसार परवानीपपुर गाँउपालिका वडा नम्बर ४ को एमएस इँटा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका वडा नम्बर २५ का मनोजप्रसाद साह तेलीलाई प्रमोद साहले दुई तीन महिनायता पटक पटक फोन गरी १५ लाख रुपैयाँ रकम माग्दै आएका थिए । रकम दिन अस्वीकार गरेपछि कात्तिक ४ गते तेलीको उक्त इँटा उद्योगमा बम बिस्फोट गराइएको थियो ।

‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुने छ,’ बिस्फोटको जिम्मा लिँदै साहले तेलीलाई फोन गर्दै धम्क्याएका थिए । अन्तिममा तेलीले फिरौती बापत तीन लाख रुपैयाँ दिन तयार भए । परवानिपुर गाउँपालिका वडा नं. ४ स्थित चैनपुर भन्ने स्थानमा आउनु भनी बोलाएको बेला इलाका प्रहरी कार्यालय सिमराले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपितले जिल्ला बारा प्रसौनी गाउँपालिका– ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोबाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए। फिरौती रकम नदिएपछि असोज १० गते राति उनको घरमा सुतली बम बिस्फोट गराएको खुलेको छ । यस्तै, परवानीपुर गाउँपालिका–४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेका थिए। फिरौती नदिएपछि असोज २ गते सुतली बम बिस्फोट गराएका थिए। सो रिफाइनरीबाट बिस्फोटपछि २५ हजार रुपैयाँ फिरौती बुझिसकेको खुल्नमा आएको पुरीले बताए ।

प्रमोद साह यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए। प्रहरीले उनलाई २०७३ चैत २८ गते वीरगन्जबाट प्रहरीले नलकटुवा बन्दुक थान १ र ३ राउण्ड गोलीसहित गरेको थियो । पक्राउ परेकाउपर मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम आपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी नायव निरिक्षक पुरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button