
दिल बहादुर राई/धरान
पुलिस क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबले झापको मेचि नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको हो । आइतबार धरान रंगशालामा भएको खेलमा जुमनु राईको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले फाइनल यात्रा तय गरेको छ । जुमनु राईले दुई गोल गरे । उनले म्यान अफ द म्याच घोषित हुदै नगद १५ हजार पुरस्कार समेत प्राप्त गरे ।
खेलमा झापाले अग्रता लिएको थियो । झापाका सञ्जय धिमाले खेलको १० मिनेट मै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर अनुभवी खेलाडी सहित मैदानमा उत्रिएको पुलिसले उत्कृष्ट खेल्दै झापालाई स्तब्ध बनायो । खेलको ४१ औं मिनेटमा भोला सिलवालको पासमा सुमन सुवेदीले उत्कृष्ट हेड गोल गरे । उनको गोल खेलकै उत्कृष्ट घोषित हुँदा सुमनले नगद ५ हजार पुरस्कार समेत जिते । लगत्तै पुलिसका तिर्थ रानालाई लडाएपछि पाएको फ्रिकिकमा गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
पहिलो हाफमा २–१ गोल अन्तरले अघि रहेको पुलिसले पुनः अर्को गोल थप्दै जित सुनिश्चित गरेको थियो । दोस्रो हाफमा आक्रमक बनेको झापाले थप एक गोल खाए । खेलको ७७ औं मिनेटमा पुलिसले काउण्टर एट्याकमा गोल ग¥यो । पुलिसका जुमनु राईले पाएको मौकामा स्कोर गरेका थिए । दोस्रो हाफमा झापाले धेरै अवसर खेर फालेको थियो । झापाका कर्ण लिम्बूले वान भर्सेज वानमा गोल गर्न चुके । खेलको ६९ औं मिनेटमा कर्ण लिम्बूले सबै खेलाडी बिट भएको अवस्थामा गोल एरियाबाट स्कोर गर्न चुके । उनले प्रहार फ्लीक गरेको बल पोष्ट नजिकबाट बाहिर गयो ।
झापाका प्रशिक्षक मिनबहादुर बस्नेतले अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले अनुभवी र युवा खेलाडीले धैर्यताका साथ खेल्दा जित्न सफल भएको बताए । भोली सोमबार मुख्यमन्त्री लिग विजेता बेलबारी फुटबल क्लब झापा र मनाङ मस्र्याङ्दी क्लब काठमाडौ बीच खेल हुने आयोजकले जानकारी दिएका छन् ।