
धरान,
२२ औं अन्र्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा मनाङले विभागिय टोली नेपाल पुलिस क्लबलाई ३(१ गोलअन्तरले हराउदै चौथो पटक उपाधिमा कब्जा गरेको हो । यसअघि मनाङले २०६०, २०६७ र २०७२ मा बुढासुब्बाको उपाधि चुमेको थियो । धरान १६ स्थित रंगशालामा आज भएको फाइनल खेलमा जितका लागी मनाङका दयानन्द सिंगले खेलको ११ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४९ औं मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा बिमल रानाले एक गोल थपेका थिए ।
यता मनाङका खेलाडिले पेनाल्टी एरियामा पुलिसका खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भोला सिलवालले गोल गरे । उनले खेलको ६७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरे पनि त्यस गोल खेल जित्नका लागी पर्याप्त थिएन । खेल अवधिभरी पुलिसले पाएको सुनौलो मौकाहरूलाई गोलमा परिणत गर्न नसक्दा निकै नै राम्रो खेल खेलको पुलिसले हार बेहोर्नु परेको हो ।
२२ औं संस्करणको उपाधिसँगै मनाङले नगद १० लाख र ट्रफि, मेडल प्राप्त गरे । उपविजेता भएको पुलिस क्लबले नगद ५ लाख र ट्रफि, मेडल प्राप्त गरे । उनीहरुलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए । यता व्यक्तिगत पुरस्कार अन्र्तग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका सुरज बिकले होण्डाको डियो स्कुटी पुरस्कार प्राप्त गरे । उनलाई देव ट्रेर्डस होण्डा शोरुम धरानका संचालक देव कुंवरले स्कुटरको चाबी प्रदान गरेका थिए ।
त्यस्तै प्रतियोगितामा ४ गोल गरेका मनाङका दयानन्द सिंहले उच्च गोलकर्ताको उपाधिको ३५ हजार पुरस्कार जिते । अन्य व्यक्तिगत पुरस्कारमा प्रतियोगिताको उत्कृष्ट गोल किपर मनाङका अशोक मास्के, उत्कृष्ट डिफेन्स पुलिसका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्ड पुलिसका जुमनु राई र उत्कृष्ट प्रशिक्षक मनाङका फुजा तोपे घोषित भए । उनीहरुलाई जनही २५ हजार नगद प्राप्त गरे । त्यस्तै धरान फुटबल क्लबका रिसभ मास्के राईजिङ प्लेयर घोषित हुँदै नगद १० हजार हात पारे । खेलको म्यान अफ द म्याच मनाङका अन्जन विष्ट घोषित हुँदै १५ हजार प्राप्त गरे । फाइनल खेलको उत्कृष्ट गोलकर्ता भने मनाङका बिमल राना घोषित हुदै ५ हजार प्राप्त गरेका थिए ।