
धरान
सुनसरीको धरानमा अवस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १४ गते देखि कोरोना भाइरसको परीक्षण शुरु हुने भएको छ । १ नम्बर प्रदेशका लागि १४ गते शुक्रवारदेखि प्रतिष्ठानमा कोरोनाको परीक्षण शुरु हुने भएको हो ।
सरकारले १४ गते देखि प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण किट उपलब्ध गराउने भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताका अनुसार काठमाडौंबाट कोरोना परीक्षणको लागि आवश्यक किट पठाई सकेको बताइएको छ । १३ गते बिहिबार किट धरान आइपुग्ने र १४ गते शुक्रबार देखि कोरोना भाइरसको स्वाब परीक्षण शुरु गरिने बताइएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा परीक्षणका लागि प्रयोगशाला तयारी भइसकेको काठमाडौंबाट आवश्यक सामग्री आएपनि केही कन्जुमर आइटम नआएकोले ती आइटम ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । ‘हाम्रो ल्याव तयारी अवस्थामा छ, काठमाडौंबाट पठाइएको आवश्यक सामग्री एम्बुलेन्समा हालेर ल्याइसकेका छौं, थप सामग्रीहरु छुटेकाले ती सामग्री पुनः माग गरिएको छ । छुटेका सामग्रीहरु आइपुग्ने वित्तिकै सार्वजनिक रुपमै कोरोना भाइरस परीक्षण शुरु गरेकोे जानकारी दिनेछौं ।’ डा. ऐरले भने ।
प्रतिष्ठानले छुट भएका ल्यावका सामान नेपाली सेनाको होलिकोप्टर मार्फत ल्याउने तयारी गरेको छ । ‘बाँकी सामान ल्याउनका लागि १ नं. प्रदेश पूर्वी पृतनाले सहयोग गर्ने भएको छ ।’ डा. ऐरले जानकारी दिए । प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रतिष्ठानको ल्यावलाई स्तरोन्नती गरिएको बताईएको छ ।
प्रदेश सरकारले एक नम्बर प्रदेशमा १ सय ७४ आईसोलेसन वेड तयार पारेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक नं. प्रदेशमा कोरोना विशेष अस्पताल विराटनगरको नेशनल ट्रेडिङ कम्पनीको हाता भित्र १० वटा आईसियु सहितको ५० बेडको अस्पताल निर्माण अन्तिम अवस्थामा पुगेको छ । कोरोना विशेष अस्पताल ५ दिन भित्रमा सञ्चालनमा आइसक्ने छ । एक नम्बर प्रदेशका सबै नगरपालिकाहरुले २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरी सकेका छन्् ।