कृषीसमाचारहेडलार्इन

समयमा धानको बिउ नपाउँदा रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानलाई पिरलो

महोत्तरी,

जेठ आधा बितिसक्दा समेत धानको बिउ नपाएपछि रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानलाई चिन्ता पर्न थालेको छ । मध्य जेठ कटुञ्जेलसम्म धानको बीउ नपाएपछि महोत्तरीका किसानले यसपाली रोपाइँ गर्न भ्याइदैन कि भन्ने आशंकमा पर्न थालेका छन् । समयमा धानको बिउ नपाउँदा र रोपाइँ गर्न नपाउँदा यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले किसानहरु पिरोलिएका छन् ।


बीउको अभावले मुख्यबाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्न सक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी लकडाउनले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, मकैबाली फौजी किराले सखाप पार्नु, फलफुल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ ।

जेठ मध्य कटिसक्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी लकडाउनले कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरलो बढेको हो । असार पहिलो साता लगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ शुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपालि ठिक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा कट्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र रायले भने, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइन पो हो कि भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखिसक्नु पर्नेमा आफुहरु अझै बीउ नपाएर झोक्राउनुपरेको रायले सुनाए ।

जिल्लाको मुख्य फसल –बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घर गुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले–पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानको भनाइ छ । “हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौँ धानका जात हुन्थे”, भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादव बताउँछन्, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशक यता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।

https://www.youtube.com/watch?v=-hoYpPmsodE&t=553s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button