
धरान,
धरानका १ सय ५० विपन्न परिवारलाई धुँवारहित चुलो वितरण गरिएको छ । धरान–संखुवासभा सरोकार समाजको अगुवाई र धरान उपमहानगरपालिकाको सहयोगमा धरानका ४ वडाका विपन्न परिवारलाई धुँवारहित चुलो वितरण गरिएको हो । धरानका ४,५,६ र २० नम्बर गरी ४ वटा वडाका ग्यास खरिद गर्न नसक्ने विपन्न परिवारलाई आधुनिक धुँवारहित जापनिज प्रविधिबाट तयार गरिएको चुल्लो वितरण गरेको धरान संखुवा सभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेले कोशीपोष्ट डटकमलाई जानकारी गराए ।
ग्यास बाल्न आर्थिकको अभाव हुने र ५÷६ जनाको परिवारलाई थोरै दाउराले खाना पकाउन सहज हुने र जंगल फडाँनीमा न्यूनिकरण हुने भएकाले चुल्लो उपयोगी हुने समाजका अध्यक्ष भोटेले बताए । धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुल्लोे उपयोगी रहेको भोटेको भनाई छ ।
गत शनिबार धरानको २० नम्बर वडामा एक विशेष कार्यक्रमको आयोजना गरी विष्णुपादुकाका ४० विपन्न परिवारलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको थियो । प्रदेश नं. १ समिति सदस्य पदमकुमारी गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा धरानका नगर इन्चार्ज तथा युवा नेता चोत्लुङ सुब्बा, वडा नं. २० का वडाअध्यक्ष मणिराम राई लगायत धुँवारहित चुलोले वनजंगल जोगाउने र चुलाचौकामा काम गर्ने आमा दिदी बहिनीलाई राहत मिल्ने साथै धुँवाले लाग्ने फोक्सो सम्बन्धि रोगबाट समेत बच्न मद्दत गर्ने बताएका थिए । ‘गाउँले धुँवामुक्त हुने भो भनेर खुसी छन् ।’ यस्तो चुलोबाट पकाइएको खाना स्वादिष्ट हुनुका साथै उर्जा सन्चिति समेत भई वन विनाशबाट जोगिने सहभागीहरुको भनाई थियो ।
https://www.youtube.com/watch?v=xFPHZ8B8OsY