
धरान,
धरानमा पाँच बुँदे सहमति पछि प्रदेशस्तरीय नाटक घर निर्माण हुने भएको छ । स्थानीय र धरान नगरपालिका बिच विवाद सुल्झिएपछि नाटक घर निर्माण हुने भएको हो । धरानउपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि
उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको हो । विवाद सुल्झिएपछि बिहिबार (आज) दिउँसो १ बजे नाटक घर शिलान्यास कार्यक्रम हुदैछ । कलाकार एवं निर्देशक अरुण प्रधानका अनुसार पछिल्लो समय मेयर तिलक राईले स्थानीयसँग बैठक बसेर लिखित सहमति गरेपछि विवाद सुल्झिएको हो । ‘सहमति भएको छ, र आज नगरपालिकाको आयोजनामा शिलान्यास कार्यक्रम हुदैछ,’निर्देशक प्रधानले भने,‘हामी कलाकारहरु पनि उक्त कार्यक्रमको तयारीमा जुटेका छौं ।’ शिलान्यास संघीय सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा हुदैछ ।
सुविधा सम्पन्न नाटक घर निर्माणको डिपिआर तयारी भइरहेको छ । यो करिब ५ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान छ । यो आर्थिक बर्षमा सांसद राईले ४० लाख बजेट नाटक घरको लागि विनियोजन गरिदिएका थिए । नाटक मञ्चनसँगै कविता वाचन, चित्रकला प्रर्दशनीलगायत कार्यक्रमहरु पनि आयोजना गर्न सकिने गरी नाटक घर निर्माण हुने भनिएको छ ।