मनाेरञ्जनसमाचार

धरानमा नाटक घरको शिलान्यास ( भिडियो सहित)

धरान,

सुनसरीको धरान –८ स्थित सभागृहको एरियामा निर्माण हुन लागेको नाटक घरको शिलान्यास विहिबार (आज) गरिएको छ । संघीय सांसद् जयकुमार राईले नाटक घरको शिलान्यास गरेको हो । सांसद् राईले आफूले संसद् बैठक छाडेर पार्टीको घोषणा पत्रअनुसार नाटक घर निर्माण गर्नका लागि धरान आएको सुनाए । उनले नाटक घर बनाउनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । नाटक घरका लागि यस वर्ष सांसद् विकास कोषबाट सांसद् राईले ४० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका थिए । बजेट फ्रिज हुने अवस्थामा नाटक घर शिलान्यास गरिएको छ ।

परम्परागत शैलीको निर्माण हुने नाटक घर २ कठ्ठा क्षेत्रफलमा बन्न लागेको छ । २ तले बन्ने नाटक घरको भित्री भाग भने आधुनिक बन्ने भएको छ । जसमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने भएको छ । नाटक घर निर्माणका लागि पटकपटक धरान उपमहानगरका रङ्गकर्मीहरूले प्रयास गर्दै आइरहेका थिए । नाटक घर निर्माणका लागि अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटक घर निर्माण उपभोक्ता समिति गठन भएको छ । समितिका संयोजक सुब्बाले नाटक घर शिलान्यासका लागि व्यग्र प्रतीक्षामा रहेको बताए । उनले आज आएर नाटक घर निर्माणको चरणमा पुगेकोमा खुशी व्यक्त गरे ।

नाटक घर करिब २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने करिब ५ करोडको लागतमा निर्माण हुने भनिएको छ । धरानमा नाटक वि.सं. १९९७ देखि नै शुरु भए पनि नाटक घर निर्माण हुन नसक्दा अन्य विकल्पका मञ्चहरू प्रयोग गरेर नाटक देखाउँदै आइरहेको थियो । २०३९ सालदेखि नाटककार अशेष मल्लले सडक नाटक शुरु गरेपछि नेपाली नाटकमा नयाँ क्रान्ति शुरु भएको थियो । धरानमा पनि सडक नाटक र कचहरी नाटकले निकै प्राथमिकता पाएको थियो ।

नाटक घर निर्माण हुने पक्का भएपछि बिरोधहरु पनि आएको सांसद् राईले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुनाए । धरानबाट कलाकारिता शुरु गर्ने कलाकर्मीहरु काठमाण्डौंमा गएर स्थापित भएको समेत सांसद् राईले बताए । नाटक घरकोे शिलान्यास आफुले गरेकाले आफ्नो कार्यकालमा नै पुरा गर्ने प्रतिबद्धता समेत सांसद् राईले जनाए ।

https://www.youtube.com/watch?v=_yExGHv5L3k

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button