
धरान,
कोरोना महामारीको कारण देखाउँदै आर्थिक वर्ष २०७७÷०७८ को वडाको बजेटमा ५० प्रतिशत भन्दा बढी कटौती गर्ने तयारी गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको एकल निर्णयले वडाको बजेट कटौती गर्न लागिएको भन्ने आरोप लागेको छ । नगरसभा गर्न २ दिन बाँकी रहँदा समेत वडाहरूमा बजेटको सिलिङ नपुगेकोले यसअघि मेयर राईले २० वडाका लागी १० करोड बजेटको प्रस्ताव नै नगरसभामा लैजाने देखिन्छ । यो अवस्थाको पूर्वानुमान गर्दै आइतबार मात्र धरानको १३ वटा वडाअध्यक्षहरूले नगरसभा अघि विधि र प्रक्रिया अनुसार बजेटको सिलिङ वडा कार्यालयहरुमा उपलब्ध गराउनुपर्ने माग गर्दै मेयर तिलक राईलाई पत्र बुझाएका छन् । बजेटको सिलिङ वडामा उपलब्ध नहुँदा वडाको योजना तथा कार्यक्रम तर्जुमा गर्न समस्या हुने बताउँदै पत्र बुझाइएका हुन् । चालु आर्थिक वर्षमा २० वडाका लागि २२ करोड ४० लाख बजेट सिलिङ तोकिएको थियो ।
वडाको बजेट कटौती हुँदा वडाको विकासमा प्रत्यक्ष असर पर्ने धरान ९ का वडाअध्यक्ष रत्न कटुवालले बताएका छन । बजेटको कमिले वार्षिक रूपमा बालबालिका, महिला, वृद्धवृद्धा लगायतको लक्षित वर्गको कार्यक्रमहरू समेत ठप्प हुन सकने उनले बताए । नगरमा जनप्रतिनिधी नै छैनन जस्तै बनाएर वडामुखी नभएर नगरमुखी बजेट बनाउने भित्री रणनितीका साथ अगाडी बढ्नु गणतान्त्रीक मुलुकमा एकल तानासाही हैकमबादको उदाहरण रहेको कटुवालले आरोप लगाएका छन । यसरी विधी विधान नपुर्याइ गरिएको एकल निर्णयले वडास्तरबाट हुने धरानको विकास पछि धकेलिने बताउँदै आफ्नो हठ त्याग्न उनले अनुरोध समेत गरेका छन ।
मेयर संयोजक रहेको स्रोत अनुमान तथा सिलिङ समितिले आइतबार नै २२ करोडको सिलिङ तयार गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई प्रस्ताव बुझाएका छन । मेयर राईले आवश्यक गृहकार्य गर्न जिम्मा दिएको एक सदस्यले दाबी गर्दै सुझाव सहित सिलिङको प्रस्ताव समितिका ४ जना सदस्य नरेश इवारम, मनोज भट्टराई, विनिता ब्रजचार्य र किसोर परियारले बुझाएको हो । समितीले बजेटलाई वडामुखी बनाउनुपर्ने बताउँदै आयको स्रोतहरु समेत पहिचान गरेर सुझाव सहित सिलिङको प्रस्ताव बुझाइएका छ ।
यता मेयर तिलक राईले भने यसपाली नगरसभामा पहिला नीति तथा कार्यक्रम प्रस्ततु हुने र त्यसपछि बजेट आउने बताएका छन । यसपटकको नगरसभामा पहिला नीति तथा कार्यक्रम आउने र त्यसपछि अलग्गै बजेट नयाँ ढंगले आउने भन्दै आएका छन । बाहिर रूपमा मेयर राईले यो भनिरहँदा भित्री रूपमा भने उनि आफैले नगरसभामा वडाको ५० प्रतिशत बजेट कटौती गरेर प्रस्ताव लैजाने अनुमान गरेकाले वडाध्यक्षहरू आत्तिएको स्पष्ट देखिन्छ । नगरसभामा जाँदा नीति तथा कार्यक्रम सँगै बजेटको सिलिङ पनि आउनुपर्ने पहिलेको चलनलाई नयाँ रूप दिएको भन्दै मेयर राईले यस विषयको खण्डन गर्दै आएका छन ।
बजेट निर्माणका प्रक्रिया अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गर्ने पहिलो प्रकृया पुरा भइसकेको छ । त्यसपछि मेयरको नेतृत्वमा रहेको स्रोत अनुगमन तथा बजेट सिलिङ समितिले छलफल गरेर वडाहरूमा पठाउने बजेट र सङ्घ एवंम् प्रदेशबाट आएको बजेट मिलाएर बजेट निश्चित गरिन्छ । त्यसपछि, वडा कार्यालयहरुले छनौट गरेको योजनाहरु उपमेयर संयोजक रहेको योजना तर्जुमा समितिमा जान्छ । बिषयगत समितिहरुले पनि सिलिङ अनुसार आफ्नो कार्यक्रम तय गर्छन् । त्यसपछि उक्त बजेट योजना परामर्श समितिमा छलफल भई निति तथा कार्यक्रम तयार गरी कार्यपालिका बैठकमा छलफलका लागि प्रस्तुत गरिन्छ । कार्यपालिका बैठकले बजेट पास गरेपछि मेयरको सहमतिमा उपमेयरले नगरसभामा प्रस्तुत गरेको बजेट नगरसभाले पास गरी लागू हुने प्रावधान छ ।
https://www.youtube.com/watch?v=xFPHZ8B8OsY