
सर्लाही,
धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।
गएराती आइतबार भएको झडपमा नेकपाका १५ र नेपाली कांग्रेसका ३ जना कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झडपमा दुई जना प्रहरीसमेत घाइते भएको उनले बताए । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । घटना स्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए । आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहले बताए । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको उनले जानकारी दिए ।
यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले काँग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएको उनले जानकारी दिए ।