
काठमाण्डौं,
ऋण नतिने उद्देश्यले अपहरणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका –४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बेपत्ता भएका थिए । २४ गते बिहान ६ बजे घरबाट हिडेका रेग्मी सम्पर्कविहीन भएर अपहरणमा परेको नाटक गरेको प्रहरीको भनाइ छ । उनी अपहरणमा परेको भनेर यही साउन २ गते जानकारी गराइएको थियो । अपहरणमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवती संग बसीरहेको अवस्थामा फेला पारिएको प्रहरी महाशाखाले जनाएको छ ।
जग्गा व्यवसाय गर्छु भन्दै पक्राऊ परेका रेग्मीले कयौंसँग करोडौँ रुपैया लिएको र पैसा फिर्ता नगर्ने उद्देश्यले आफू अपहरणमा परेको नाटक गरेको प्रारम्भिक बयान दिएको प्रहरीको भनाइ छ । अपहरणमा नपरीकनै प्रहरीलाई झुटो सूचनामार्फत हैरानी दिइ राज्यका स्रोत–साधनको दूरुपयोग गराएकाले आवश्यक कारवाहीका लागि रेग्मीलाई सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् ।
https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=9s