
धरान,
सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान साउन १४ बाट लकडाउन भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा साउन १४ गते (आजदेखि) अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले सूचना निकालेर जानकारी गराएको हो । सूचनामा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र कही कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।
प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा तिनका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान सूचित गरिएको छ । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारबाही गरिने सूचनामा भनिएको छ ।
प्रतिष्ठानका शिक्षक,कर्मचारी लगायत विद्यार्थीहरूले प्रतिष्ठान बाहिर अन्यत्र स्थान जिल्ला जानु परेमा प्रतिष्ठानबाट पूर्व स्वीकृति लिएर मात्र जानु पर्ने छ । पूर्व स्वीकृति नलिई गएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । प्रतिष्ठानका शिक्षक,कर्मचारीहरूलाई आ आफ्नो काममा आउँदा मास्क लगाउने तथा सामाजिक दुरी कायम गरी काममा उपस्थित हुन समेत सूचनामा उल्लेख छ ।
https://www.youtube.com/watch?v=9cIVEn2-wfM&t=263s