समाचारसमाज

दाजुको हत्या गरेको आरोपमा भाई पक्राऊ

ताप्लेजुङ

दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन् । ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइसहित दुई जना पक्राउ परेका हो । मेरिङ्देन गाउँपालिका – ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पाशाङ ल्हामु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशङ्कामा साउन १९ गते प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरूले नै हत्या गरेको स्वीकार गरेपछि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गोठमा मृतकसँग विवाद हुँदा पाशाङ ल्हामु शेर्पासमेतको सहयोगमा दाउराको चिर्पट प्रयोग गरेर हत्या गरेको प्रहरीमा बयान दिएका छन् । आरोपितले म्याट्रिस, राडी, ओढ्ने कम्बल साथै दाउराले समेत छोपेर आगो लगाइदिएको प्रहरीमा बयान दिएका छन् । फुर्वा गत साउन १२ गते घरदेखि करिब ६ घण्टा पैदल दूरीमा पर्ने आफ्नै गोठमा मृत अवस्थामा फेला परेका थिए । गोठमा एक्लै बस्दै आएका फुर्वा साउन ६ गते घरमा आई ८ गते खाद्यान्नलगायतका सामान लिएर गोठ फर्किएका थिए । यस्तै साउन १२ गते थप खाद्यान्नलगायतका सामान लिएर छिमेकीसहित गोठमा पुगेकी बुहारीले उनलाई मृत अवस्थामा भेटेपछि फोनमार्फत घरपरिवारमा खबर गरेकी थिइन् ।

दाजुको हत्या स्वीकार गर्ने भाइ र भतिजीको गोठसमेत मृतकको गोठभन्दा १ घण्टा पैदल दूरीमा पर्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्ष अघिदेखि नै सामान्य विषयमा उनीहरूबीच विवाद चल्दै आएको पाईएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button