
बनेपा,
अस्पतालमा कार्यरत २३ जना कर्मचारीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये भाद्र ६ गते शनिबार एकैपटक २३ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एकैपटक ठुलो संख्यामा कोरोना संक्रमित भेटिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्कोे सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा सो आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.नरेन्द्रकुमार झाकाअनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा.झाले बताए । एकैदिन यतिधेरै संख्यामा सङ्क्रमण देखिएको जिल्लामा पहिलो पटक हो । सो संक्रमित सहित काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यसमध्ये ४३ जना डिस्चार्ज भएका छन् ।