
खोटाङ,
खोटाङको जन्तेढुङ्गामा दाजु बहिनीको वीभत्स हत्या भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नंम्बर –४ डम्वर्खुशिवालयस्थित सामाताङमा २ जना वृद्धवृद्धाको दाजु बहिनीको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको हो । जंगल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव उनीहरुको आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।
दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । घटनास्थल छिमेकी जिल्ला भोजपुरको सिमानामा पर्दछ । घटनाको प्रकृति हेर्दा ३/४ दिन अगाडी हत्या भएको अनुमान गरिएको घटनास्थल पुगेका प्रहरी नायव उपरिक्षक चिमरियाले बताए । ‘यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्’, उनले भने ‘अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।’
घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रमुख लिल्ला अधिकारी पौडेलले जानकारी दिए । घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोस टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाइएको प्रहरीेले जनाएको छ ।