
धरान,
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका अध्यक्ष केःपीःपालुङ्वाले संसद विघटन पछि मुलुक अस्थीरता र संकटमा फसेको बताएका छन् ।
मंगलबार धरान १२ स्थित होटल पूर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पालुङ्वाले यथास्थितिमा मध्यावधी निर्वाचन हुन नसक्ने समेत बताए । संसद विघटनबारे सर्वोच्च अदालतको फैसलामा भर पर्ने धारणा राख्दै पालुङ्वाले न्यायलयबाट पनि निष्पक्ष फैसला हुनेमा आशंका व्यक्त गरे । ‘सर्वोच्चले कस्तो फैसला गर्छ टुंगो छैन । न्यायलय राजनीतिक दलबाट प्रभावित छ । सही, सत्य फसैला न्यायलयले दिने अवस्था छैन,’उनले भने,‘संसद विघटनलाई न्यायलयले सदर गरेपनि यथास्थितिमा चुनाव हुन सम्भव छैन ।’
पालुङ्वाले निर्वाचन गर्नेपर्ने भए प्रधानमन्त्रीबाट ओलीलाई बर्खास्त गरेर राजनीतिक दलहरुको सर्वदलीय सरकार बनाएर चुनाव गर्नुपर्ने पनि बताए । उनले भने,‘चुनाव गर्नेपर्ने भए सर्वदलीय सरकार बनाएर चुनावमा जानुपर्छ ।’ उनले कांग्रेस, कम्युनिष्ट र जसपा मिलेर मात्र ओली सरकारलाई विस्थापित गर्न सम्भव नभएकोले अग्रगामी, पहिचान पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट हुन पनि पालुङ्वाले आह्वान गरे ।