
धरान,
सुनसरीको धरान उपमहानगरपालिका ९ का वडाअध्यक्ष रत्न कटुवाललाई अनुसन्धानका लागि प्रहरीले खोजी गरीरहेका छन् । स्याङ्जा घर भएकी एक महिलाले धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता बनाउन सहयोग गरेको आरोप लागेकाले वडाअध्यक्ष कटुवाललाई अनुसन्धानका लागि खोजी गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतलले कोशीपोष्ट संगको कुराकानीमा बताए । स्याङ्जा घर भएकी महिलाले धरान ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ ।
स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते धरानबाट नागरिकता लिएकी थिइन् । उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएका थिए । वडा ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका उनी हाल जापानमा रहेको खुलेको छ । झुटो विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठुलो रकम खर्च गरेको अनुमान छ । धरानबाट नागरिकता निकाल्ने महिलाको वास्तविक उमेर बढी भएपनि २०५५ सालको जन्मदर्ता गरेर दुई बर्षअघि २० बर्ष उमेरको नागरिकता लिएकी थिइन् । जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए । सेजुवल दुई बर्षअघि जापानबाट नेपाल आएर धरान ९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएका थिए । त्यसपछि उनी पुनः जापान फर्किएका थिए ।
झुटो विवरण पेश गरेर नागरिकता लिने ती महिला पक्राउ परिसकेकी छिन् भने झुटो विवरण सिफरिस गरेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नं ९ का अध्यक्ष रत्न कटुवाल विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटुवाल भने फरार रहेका छन् । धरान प्रहरीका अनुसार यो मुद्दा स्याङ्जा प्रहरीमा नै दर्ता भएको हो । अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा धरान पठाइदिएको हो । धरान प्रहरीले पनि अनुसन्धानको क्रममा ती महिलालाई झुटो विवरण पेश गरेर नागरिकता झिकेको अनुसन्धानबाट खुलेको जनाएको छ । ‘झुटो विवरण पेश गरेर नै नागरिकता झिकेको देखियो,’ उपरिक्षक बस्नेतलले भने ।