
काठमाण्डौं,
कोरोना भाइरसका कारण नेपालमा ५५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएतापनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ३१ जनाको परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५ सय ७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५ सय १३ र ललितपुरमा ६ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।