
उदयपुर,
टिकटक बनाउने क्रममा भीरबाट लडेर धरानका १ जना युवाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर १ जना युुवाको ज्यान गएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको न. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरस्थित सडकमा बिग्रिएको थियो । सुमो बिग्रिए पछि गाडीबाट ओर्लिएर टिकटक बनाउने क्रममा धरान ५ का १८ वर्षीय सुभाष परियार भीरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै, ईलाम नगरपालिका ५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको पनि रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक लडेका थिए । अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।