
धरान,
आज देखि सुनसरीमा जेष्ठ १५ सम्म थपिएको लकडाउन कडा बनाएको छ । २ हप्ताका लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको हो । कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ ।
यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबाहेक सम्पुर्ण पसलहरु बन्द गरिएको छ । औषधी र उपचारमा बाहेक अन्य कुनै पनि प्रयोजनमा हिडडुल गर्न मानिसहरुलाई पुर्णप्रतिबन्ध लगाइएको छ । दुध तथा दुधजन्य पदार्थ र डोको, साइकलमा हरियो तरकारी घरमा पुर्याउनलाई मात्र बिहान ८ बजेसम्म छुट दिइएका छ ।
यस्तै धरानमा पनि लकडाउनलाई कडा गरिएको धरान ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबै प्रहरीहरु फिल्डमा खटिएका छन् । मोवाइल गस्ती, धरान प्रवेश गर्ने सबै नाका, चोकहरुमा प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ । हिडडुल गर्नेहरुलाई सम्झाउदै फर्काउने गरिएको छ ।
आज बिहान मर्निङ वाक गर्ने करिब ८ जनालाई धरान १४ विजयपुर चोकमा एक घण्टा नियन्त्रणमा राखेर छोडिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सर्वसाधारणहरुकै स्वास्थ्यको लागि लकडाउन गरिएको जिल्ला प्रशसान कार्यालय सुनसरीले जनाएको छ ।