
पाल्पा, koshipost.com
सिद्धार्थ राजमार्गअन्तरर्गत पाल्पा – बुटवल सडकखण्ड पहिरो जाँदा अबरुद्ध भएको छ । ३ दिने देखीको लगातार वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको हो । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकरी दिए ।
राजमार्गको माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन आजै डोजर गएको र हटाउने कार्य जारी रहेको प्रहरी उपरिक्षक पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या लाग्ने प्रहरीले जनाएको छ । ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आवतजावत गर्ने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।