
धरान,koshipost.com
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डां ज्ञानेन्द्र गिरी मापासे गरेर वार्तामा बसेपछि लफडा भएको छ । चौध दिनदेखि आन्दोलरत प्रतिष्ठानका संयुक्त संघर्ष समितिसँग वार्तामा बस्ने तयारीपूर्व उपकुलपति डा. गिरीले मादक पदार्थ सेवन गरेको पाइएपछि समितिलगायत आन्दोलनरत पक्षले मापासे जाँच अगाडि बढाउन दबाव दिएका हुन् ।
समितिमा आवद्ध चिकित्सक, विद्यार्थी, नर्स, र कर्मचारीहरूले डा। गिरीको मापासे जाँच गर्न प्रहरी पक्षले साथ नदिएको भन्दै प्रहरीप्रति नै गम्भीर प्रश्न उठाएका छन् । डा. गिरीसहितको ४ जना पदाधिकारीसँग वार्तामा बस्न खोज्दा रक्सीको गन्ध ह्वास्सै आएको र बोलीसमेत लरबरिएको पाइएपछि वार्तामा बस्नुको औचित्य पुष्टि नभएको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रहरीलाई मापासेमा जाँच गर्नका लागि वातावरण बनाइदिनका लागि आग्रह गर्दा प्रहरीले आफुहरुले नमिल्ने बताए । समितिका पदाधिकारी तथा आन्दोलनरत पक्षले प्रहरीको कार्यशैलीलाई लिएर ‘प्रहरी प्रशासन मुर्दावाद’ सम्मका नारा लगाएका थिए । ‘पदाधिकारीबाहेक अन्य कोही भइदिएको भए, तत्काल पक्राउ गरी मापासे जाँच गरेर हिरासतमा लिन्थे’ आन्दोलनरत पक्षका एकजनाले भने, ‘उपकुलपति भएकाले छाडा छाडिएको छ ।’ उपकुलपति डा. गिरीले मापासे गरेको विषयलाई लिएर पदीय मर्यादाविपरीत भएको बताएका छन् ।
सामान्यतः मापासे जाँच तत्काल नगरेको अवस्थामा रिपोर्ट तलमाथि हुने भएकाले पनि आन्दोलनरत पक्षले तत्काल जाँच गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका थिए । उनीहरूले नैतिकताका आधारमा पनि उपकुलपतिले राजीनामा दिनुपर्ने बताए । आन्दोलित पक्षले राजीनामाको मागलाई जोडदार रूपमा उठाएका थिए । प्रहरी र आन्दोलनरत पक्षबीचमा झडपको स्थिति सिर्जना भएको थियो । उपकुलपति डा. गिरीको मापासे जाँच गर्न पहल नगरेको भन्दै उपकुलपति कार्यालयको अगाडिपट्टिको गेटबाट आन्दोलरत पक्ष प्रवेश गर्न खोजेका थिए । त्यससमयमा प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा केहीबेर तनावग्रस्त बनेको थियो ।
स्थिति बाहिर जान सक्ने भन्दै प्रहरी फोर्स बढाएको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका थप प्रहरी परिचालित गरिएको छ । आन्दोलनरत पक्ष र घटनाको विषयवस्तु बुझ्नका लागि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईसमेत पुगेका थिए । आन्दोलनरत पक्षले डा. गिरीको मापासे जाँच गर्ने वातावरण तयार गरिदिनका लागि नगर प्रमुख राईसँग आग्रह गरेका थिए । नगर प्रमुख राईले उपकुलपति गिरीको मापासे जाँचका लागि वातावरण बनाउने प्रयास गरेका थिए ।
डा. गिरी आफ्नो कार्यकक्षभन्दा बाहिर जान सकेका थिएनन् । डा. गिरीलाई वार्ताका लागि धरान नागरिक दबाव सञ्जालले पनि तीन दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । यसअघि जेठ २४ गते पहिलोपटक सञ्जालले उपकुलपति गिरीसहितका पदाधिकारीलाई सुझावसहितको एकसाताको अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको केही समयपश्चात् नै डा. गिरी काठमाडौंतिर लागेका थिए । सञ्जालको अल्टिमेटमको समयावधि जेठ ३१ गते सकिएको थियो । जेठ ३० गते डा. गिरीले चिकित्सक तथा दन्तचिकित्सक कल्याण समाजका निवर्तमान अध्यक्ष समेत रहेका डा. विष्णु पोखरेललाई तीन दिनभित्र स्पष्टीकरण दिनू भन्दै पत्राचार गरेका थिए । बीपी प्रतिष्ठानको विषयलाई अख्तियारमा लगेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
सोही पत्राचारपछि नै संघर्ष समितिले आन्दोलन शुरु गरेको थियो । असार १ गतेभित्र स्पष्टीकरणको जवाफ दिनुपर्ने समयसीमा भए पनि असार २ गतेबाट समितिले डा. गिरीले चालेको कदमविरुद्ध आन्दोलित बनेका थिए । सोमबार रिले अनसन शुरु गरेका थिए । डा. गिरीले आफ्नो नाम अगाडि प्राध्यापक पद राखेको विषयमा पनि समितिले आवाज उठाएको थियो ।