
धनकुटा,koshipost.com
धनकुटा विपक्षी गठबन्धन दलहरुले नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराऊ गरेको छ । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटाको पाख्रिवासमा नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ गरी विरोध सभा गरेको हो ।
पाख्रिवास बजारबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहको आयोजनामा नारा जुलुसले पाख्रिवास बजारको विभिन्न भागहरुको परिक्रमा गरी पाख्रिवास नगरपालिका कार्यालय घेराउ गरी नारा जुलुस लगाउदै बजारमा आई विरोध सभा गरेका हुन् ।
विरोध जुलुस तथा पाख्रिवास नगरपालिका घेराउ कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती,नेकपा मााधव समुहका अध्यक्ष अर्जुन राई,डिप्लप राई,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राई,सचिव श्रीराम रायमाझी लगायतका जिल्ला तथा पाख्रिवासका चार वटै पाटीका नेताहरुको नेतृत्वमा सयौ कार्यकर्ताको सहभागीता रहेको थियो ।
नगरपालिका घेराउ पछी आयोजित विरोध सभालाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेकपा एमाले माधव समुह धनकुटाका अध्यक्ष अर्जुन राई,नेकपा माओवादी केन्द्र धनकुटाका सचिवलाय सदस्य हेमचन्द्र किराती,ओम प्रकाश निरौला,ससपा धनकुटाका उपाध्यक्ष पार्वती राईले विकास विरोधी जनविरोधी पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्न सवैहलाई आव्हन गरेका छन् ।
कांग्रेसका पाख्रिवास नगर संयोजक ज्ञान वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र पाख्रिवासका अध्यक्ष मुक्ति वजगाईले गरेका थिए । विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने लगायतका मागहरु राख्दै धनकुटाका चार विपक्षी गठबन्धन सशक्त आन्दोलनमा दैनिक रुपमा उत्रिने जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।