
धरान,koshipost.com
धरानका स्व. मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । शुक्रबार धरान उपमहानगरपालिकाले शोक सभाको आयोजना गर्दै तेस्रो स्मृति दिवस कार्यक्रम धरान उपमहानगरपालिकाको हलमा सम्पन्न भएको हो । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारी र स्व. मेयर सुब्बाका दिदी होमकुमारी सुब्बाले स्व. मेयर सुब्बाको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्मृति सभालाई सम्बोधन गर्दै सभामुख भण्डारीले स्व. सुब्बाले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । सभामुख मण्डारीले स्वं सुब्बा धरानको लागि महत्वपूर्ण योगदान गरेको नेताको रूपमा परिचित रहेको स्मरण गरे । स्व. सुब्बाको विकासका योजनाहरुले अहिले निरन्तरता पाइरहेको बताउँदै सभामुख भण्डारीले धरानको विकासलाई समृद्धितर्फ लान समेत आग्रह गरेका थिए । उपमेयर मन्जु भण्डारीले (सुवेदीले) विकासप्रेमी नेताको निधन भएको बताए । स्व. सुब्बाले देखेको योजनाहरु अगाडि बढिरहेको उनले बताइन् । धरान उपमहानगरपालिकामा हालसम्म ३ वटा नेतृत्व आइसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए विकासले गती लिने उपमेयरले बताईन् ।
‘स्व. सुब्बाले एक वर्ष मात्र नेतृत्व चलाउन पाउनु भयो, त्यसपछि मैले कार्यबाहक मेयरको रुपमा डेढ वर्ष चलाए, उपनिर्वाचनपछि मेयर तिलक राई आउनुभएको छ, आर्थिक योजनाहरु अघि बढिरहेको छ, विकासका योजनाहरुमा निरन्तरता दिएका छौं, बसपार्क बनाउने समस्या समाधान हुँदैछ,’ उनले भनिन् । उपमेयर भण्डारीले खानेपानी आयोजना नआएको भए धरानबासी काकाकुल हुने अवस्थामा पुग्ने धारणा समेत व्यक्त गरिन् । स्मृति दिवस कार्यक्रममा धरानका राजनीतिक दलका नेता, वडाध्यक्ष, शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।







