समाचारसमाजस्थानीयहेडलार्इन

प्रदिप सुब्बा हत्या आशंकामा आङ्बुहाङ एग्रीकल्चर फार्मका सञ्चालकसहित ३ जना पक्राउ

धरान,koshipost.com


प्रदिप सुब्बा हत्या आशंकामा आङ्बुहाङ एग्रीकल्चर फार्मका सञ्चालक सहित ३ जना पक्राउ परेका छन् । रहस्यमयरुपमा धरान ४ वैदाङ्गे खोल्सीमा शव भेटिएको प्रदिप सुब्बाको हत्या आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ४ पत्रांगबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ वर्षीय मंगलसिंह लिम्बु, फार्ममा सहयोगीकरुपमा कार्यरत २० वर्षीय भरत भुजेल र सोही स्थानमा बाख्रा फार्म सञ्चालन गर्ने ५४ वर्षीय जन्तरे भन्ने रामकुमार राई रहेका छन् । उनीहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालतबाट अनुमति लिएको थियो । प्रहरीका अनुसार शनिबारबाट लागु हुने गरी अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।


मृतक सुब्बा मंगलसिंहको फार्ममा काम गर्दै आएका भएपनि मुत्यु हुनु केही महिना अघि देखि काम छाडेका थिए । उनीसँगै काम गर्ने धरान १४ का भरत भुजेलले बैशाख ७ गते मोबाईल लिन बोलाएपछि घरबाट हिडेको र सम्पर्क विहिन भएका थिए । करिब एक महिना पछि जेठ ५ गते प्रदिपको शव बैदाप खोपमा कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुबा सुर्यबहादुर सुब्बाले कर्तव्य गरी मारेको आशंकामा प्रहरीमा जाहेरी दिए पनि लामो समयसम्म अनुसन्धानले गति लिएको थिएन । मृतक परिवारले हत्यामा ३ जनाको संलग्नता भएको हुनसक्ने भन्दै पक्राउ गरेर अनुसन्धान गर्न माग गरेपनि प्रहरीले अनुसन्धान गरेर मात्र पक्राउ गर्ने जनाएको थियो ।

यसबीचमा ईलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरिक्षक (डिएसपी) परिवर्तन भए । नयाँ डिएसपी नरेन्द्र कुँवर भर्खर आएको बेला मृतक परिवारले पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपितहरुलाई बचाएको आरोप लगाए । यसपछि डिएसपी कुँवरले घटनालाई गम्भीररुपमा लिएको र अनुसन्धान गरेर दोषी पत्ता लगाएरै छोड्ने प्रतिवद्धता पत्रकार र मृतक परिवारलाई जनाएका थिए । ढिलै गरी भएपनि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मृतक परिवारले औल्याएका व्यक्तिहरुलाई हिरासतमा लिएको छ । डिएसपी कुँवरले प्रदिपको हत्या भएको आधारहरु भेटिएको र त्यसमा ३ जनाको संलग्नताको पनि आधार भएकै कारण नियन्त्रणमा लिइएको बताए । उनले भने,‘केही शंका भएर नै, आधार र कारण भेटिएर नै नियन्त्रणमा लिइएको हो । थप अनुसन्धान गर्दैछौं ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button