
विराटनगर,koshipost.com
बिरामीलाई ठग्ने अस्पताल परिसरमा फार्मेसीका १० जना ‘विचौलिया’ पक्राउ परेका छन् । अस्पतालको गेटैमा परिचालित हुने फार्मेसीका ‘बिचौलिया’ ले बिरामी ठग्न अनेकौं उपाय लगाउने गरेको भेटिएको छ । विराटनगरका ठूला अस्पतालमा फार्मेसीहरूले बिचौलिया परिचालन गरेको पाइएको हो ।
अस्पतालमा चिकित्सकलाई देखाएर फर्कने बिरामीलाई सुलभ दरमा औषधी दिलाइदिने, सबैभन्दा राम्रो ब्राण्डको औषधी दिनेजस्ता प्रलोभन देखाउँदै उनीहरूले बिरामी ठग्ने गरेको पाइएको छ । मोरङ प्रहरीले मंगलबार राति १० जना बिचौलियालाई पक्राउ गरेपछि फार्मेसीहरूको यो धन्दा बाहिर आएको हो । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल परिसरबाट प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकलबाट ७ र कोशी अस्पतालबाट ३ नालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेलबाट पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनी कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन्।
कोशी अस्पताल परिसरबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मोहमद जली पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेसीका हुन् भन्ने नखुलेको प्रहरीले जनाएको छ ।