
विराटनगर,koshipost.com
१ नम्बर प्रदेशमा आज नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादीमा खुलेको १० सांसदले समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरेका छन् । (नेकपा) प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका हुन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।
उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ लगायतले समाजवादीको पक्षमा सनाखत गर्दैछन् । समाजवादीमा आवद्ध भएको १० प्रदेश सांसदमध्ये नेता राजेन्द्र राई, कृष्णाकुमारी राई र गणेश काङ्माङ पाटीको केन्द्रीय सदस्य हुन् । ‘एमाले छाडेर समाजवादी पाटीमा आवद्ध भएका हामी सबै (१०) सांसद सनाखतका लागि निर्वाचन कार्यालय जाने तयारीमा छौ,’ नेता राईले भने, ‘निर्वाचन कार्यालयमा जान आवश्यक कागजी प्रकृया पनि पुरा भइसकेको छ ।’
निर्वाचन कार्यालयमा ११ बजे गएर सनाखतको गर्ने उनले बताए । राईको नेतृत्वमा समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो । बागमती र सुदूरपश्चिम प्रदेशमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् । नेता राईले भने जस्तै १० जना सांसदले एमाले छाडेर समाजवादी रोजेको अवस्थामा एमाले सचिव भीम आचार्य नेतृत्वको प्रदेश सरकार अलपमतमा पर्नेछ ।
एमालेबाट अलग भएर गठन भएको समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको छ । यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । यसअघि नेपाल समूहमा १८ सांसद आबद्ध थिए ।
पाटी विभाजनपछि नेपालको साथ छोडेर आचार्य प्रदेशको मुख्यमन्त्री बनेका छन् । त्यसैगरी अर्का नेता जीवन घिमिरेले पनि नेपालको साथ छाडेर एमालेमा फर्किएका छन् । आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पाटीमा जिम्मेवारी सहितका विभिन्न ‘अफर’ गरेका छन् । तर, उनको प्रभावमा १० जना सांसदमध्ये कोही नपर्ने बरु थप सांसदले सनाखत गर्ने राईको भनाइ छ ।
प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने विपक्षी गठबन्धनको बहुमत पुग्नेछ । प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पाटीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद रहेका छन् । राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।