
धरान,koshipost.com
राजतन्त्र होइन अब जनगणतन्त्र ल्याउनु पर्छ भन्दै सुनसरीको धरानमा आएर सिपि गजुरेल गर्जिए । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले धरान भएको पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् । नेपालमा संघीय जनगणतन्त्र आवश्यक भइसकेको गजुरेलले दावी गरेका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल १ नं. प्रदेश समितिले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गजुरेलले यस्तो बताएका छन् । पहिलादेखि नै आफूहरुले यही एजेन्डा लिएर सबैलाई आह्वान गर्दै आएको बताउँदै उनले भने, ‘आफूहरुले ल्याउन चाहेको जनगणतन्त्र थियो तर आयो गणतन्त्र र यो बीचैमा अलमलियो, त्यसो हुनाले अब नेपालमा संघीय जनगणतन्त्र ल्याउनुपर्छ, ल्याउनका लागि सबै लागौं’ अध्यक्ष गजुरेलले आग्रह समेत गरे ।
लोकतान्त्रिक गणतन्त्र बुर्जुवा पार्टीहरुको माग रहेको उनले आरोप लगाए । जनयुद्ध लडेको गणतन्त्रका लागि हो भन्ने भ्रम रहेको बताउँदै उनले भने, ‘दस्तावेजहरु हेर्नुहोस्, हामीले जनगणतन्त्रकै लागि लडेका हौं तर संविधान आउने बेलामा प्रचण्ड, बाबुरामहरुले विश्वासघात गरे, आफ्नै एजेन्डाप्रति गद्दारी गर्दै लोकतान्त्रिक गणतन्त्र भन्दै दौडिए, कम्युनिष्टले त लोकतान्त्रिक गणतन्त्रका लागि त लड्दैन भनेर त्यही कारण पाटी फुट्यो पनि ’ अध्यक्ष गजुरेलको आरोप छ ।
१२ बुँदे समझदारी गर्दा आफूहरु जेलमा रहेकोले यो कुरा उठाउन नपाएको उनको तर्क थियो । ‘अब यो व्यवस्थाले हुँदैन, सम्भव भएन, अब जनगणतन्त्रको वकालत गरौं ।’ उनले भने, संघीय जनगणतन्त्र नै अग्रगामी विकल्प र व्यवस्था हो । यसले नै समस्याको समाधान गर्न सक्छ ।’राजतन्त्र ल्याउनु प्रतिगमन भएको बताउँदै उनले अग्रगामी व्यवस्थामा जानुपर्ने बताए । जनगणतन्त्र आइसकेपछि कायापलट नभइहाल्ने तर यसकै सिद्धान्तले राज्य निर्माण हुँदा देशले कोल्टे फेर्ने उनको दावी थियो ।
अहिले नै हतियार उठाउने योजना नरहेको उनले जानकारी दिए । ‘जनताले त्यो व्यवस्था चाह्यो भने आइहाल्छ, हामी हतियार उठाउँदैनौं, जनमत सिर्जना गरेर जान्छौं ’ अध्यक्ष गजुरेलले भने ।