
विराटनगर,koshipost.com
१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय भएको । प्रदेश १ को विपक्षी गठबन्धले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सहभागी थिए । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही शुरु हुने बताए । प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।
