
धरान,kohipost.com
सुनसरीको धरान भानुचोकमा फुल किनबेच गर्नेको घुँइचो लागेको छ । आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन घरलाई फूल मालाले सजाउने दिन । साँझ दियो, बत्ती बालेर झिलिमिलि पार्ने र लक्ष्मीपुजा गर्ने दिन मानिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज बिहान पनि ती ठाउँमा सयपत्री र मखमली फूल खरिद बिक्री गर्नेहरुको भीड छ । अन्य चोकहरुमा पनि खुद्रा व्यापारीहरुले सयपत्री फूल बिक्री गरिरहेका छन् ।
छिमेकी देश भारतको कलकत्ताबाट सयपत्री फूलको माला भित्रिएको थियो । धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा १ लाख तयारी माला व्यापारीहरुले ल्याएर राखेका थिए । धरान आसपास र धनकुटाबाट भने हिजो साँझ र आज बिहान मात्र फूलहरु बजारमा आएको छ ।
फूल व्यापारीहरुका अनुसार यसपाली किसानले फुलको राम्रो मुल्य पाएपनि बजार भाउ भने छैन । घाटा व्यहोरेर नै फूल बिक्री गर्नुपरिरहेको व्यापारीहरुले बताए ।
भारतीय फूलको मालासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि आफूहरुले सस्तोमा नै फूल बिक्री गर्नुपरेको व्यापारीहरुको दुखेसो छ । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराई भने व्यापारीहरुले घाटा भएको भनेपनि उपभोक्ताहरुले सस्तो मुल्यामा फूल नपाइरहेको बताउँछन् । फूल सस्तो हुँदा उपभोक्ताहरुले ३५, ४० रुपैया मुठामा पाउनुपर्ने भएपनि ग्राहकले त्यस मुल्यमा नपाएको व्यवस्थापक भट्टराईले बताए ।

