
धरान, koshipost.com
सुनसरीको धरानमा समर्पण अभियान नेपालले गुलाबको फूल बिक्री गरेर भ्यालेन्टाईन डे मनाईएको छ । फेब्रुवरि १४ अर्थात् भ्यालेन्टाइन डे को दिन विशेष गरेर प्रेमिल जोडीहरु कुनै रमणीय स्थल घुम्न जाने, उपहार आदानप्रदान गर्ने मात्र हैन सँगै बाँच्ने सँगै मर्ने कसम समेत खाने गर्छन्। तर यो भन्दा फरक तरिकाले समर्पण अभियान नेपालले रचनात्मक कार्य गरी प्रणय दिवस मनाएको छन् ।
सामाजिक कार्यका लागि स्थापित संस्था समर्पण अभियान संस्थाका युवाहरुले धरान का विभिन्न स्थानमा भ्लालेन्टाईन डे को उपलक्ष्यमा गुलाब फूल र चकलेट बिक्री गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस, भानुचौक, युएन कलेज र आदर्श कलेज गरी धरानका ४ ठाउँमा फूल र चकलेट बिक्री गरिएको हो । गुलाबको फूल र चकलेटको कम्बो एक सय रुपैयाँ देखि ४ सय रुपैयाँ मुल्यमा बिक्री गरेको संस्थाका युवायुवतीहरुले बताए ।
गुलाबको फूल र चकलेट बिक्री गरेर संकलन भएको रकमले विपन्न क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामग्री उपलब्ध गराउने अभियान नेपालका अध्यक्ष युनेश भन्डारीले जानकारी दिए । ‘विपन्न वर्गका विद्यार्थीहरुलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले हाम्रो संंस्थाले यस्तो काम गरेको हो । आवश्यक पर्ने स्टेशनरी सामग्रीहरु उपलब्ध गराउदा विद्यार्थीहरुको क्षमता,योग्यतामा हौसाला मिल्छ भन्ने हामीले विश्वास लिएकाछौ’ अध्यक्ष भण्डारीले कोशीपोष्ट डटकम संगको कुराकानीमा भने ।
धरानलाई कार्यक्षेत्र बनाएर विभिन्न कलेज तथा विद्यालयमा अध्ययन गरिरहेका समर्पण अभियान नेपालका युवाहरु बिगतका केही वर्षदेखि विभिन्न सामजिक कार्यमा सक्रिय रहदै आएका छन् । संस्थाले सडक बालबालिका को पुनःस्थापना, सार्वजनिक स्थानको सरसफाई तथा विपन्न बालबालिकालाई न्यानो लत्ता कपडा वितरणमा समेत सक्रिय रहने गरेका छन् ।