
धरान/ नमिता राई
मकै पोलेर २ छोरी र विरामी श्रीमान पाल्दै आएकी छिन् मनिका कटेल । उनी खोटाङ जिल्लाको मातेम गाउँमा जन्मिएर गाउँमै उनको विवाह भयो । मनिका ७ वर्ष अघि खोटाङबाट धरान आएकी थिईन् । सामन्य लेखपढ भएकी मनिका धरान आएपछि सानोतिनो व्यापार व्यवसाय गर्न थालिन् ।
जाडो भाग्दै गरेको र गर्मीले आफ्नो कब्जा जमाउदै गरेको मौसम एकातिर घामको ताप, अर्कोतिर आगोको राप । ३५ नाघेकी मनिकाको शरीर पसिनाले भिजीरहेको जस्तो देखिन्थ्यो । भिजेको हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि कटेलको दैनिकी यसरी नै बित्छ । धरानको गौतम पथमा मकै पोल्नु, बेच्नु कटेलको दैनिकी हो । मकै पोल्ने उनी प्राय एक्लै हुन्छिन्, भने कहिले दुई छोरीहरु र श्रीमान सँगै हुन्छन् ।
कमाएर ल्याउने श्रीमान् बिरामी परेपछि उनी जिविकोपार्जनका लागि मकै पोल्न थालेकी बताउँछिन् । श्रीमान् आफु भन्दा झण्डै दोब्बर उमेरको भएको उनले कुराकानीमा सुनाईन् । उनको श्रीमान् ६० बर्षीय छन् । बिरामी श्रीमान् संगै उनको ७ वर्षीय जुम्ल्याहा छोरी पनि छन् । बिरामी श्रीमान् पाल्न र २ छोरीको पालनपोषण र शिक्षाका लागि उनी झरीबादल हावापानी नभनी तातो घाममा मकै पोल्ने व्यवसाय गर्छिन् । मनिका लक्ष्मी चौक देखी डोकोमा मकै र मकै पोल्ने सामान तगारी, कोइलाका साथमा चिम्टा बोकेर गौतम पथ आईपुग्छिन् ।
‘भाग्य कसैले देखेको हुँदैन रहेछ विवाह गरेर सुखी जीवन कटाउने रहर नभएको त कहाँ होर जन्मँदाको छैटौमा लेखिएका लेखान्त भोग्नु नै पर्ने रहेछ । बिहान ३ बजे नै उठेर भानुचौकबाट बस चढी सामूहिक रुपमा मकै पोल्ने महिलाहरु मिलेर झापाको भाउन्ने मकै लिन जान्छौ जहाँ आफ्नो ठेक्का हुन्छ त्यसै बारीमा मकै भाचेर ल्याउछौं मकै भाच्न १ घण्टा लाग्छ त्यसपछि खाजा खान्छौ अनि धरान फर्कन्छौं ।’उनले कोशीपा्ेष्ट डटकम संगको कुराकानीमा सुनाईन्
‘बारीबाट ल्याँउदा हामीलाई प्रतिघोगा २० देखि २५ रुपैया जति पर्छ यहाँ ल्याएर हामी ३५ रुपैया देखि ५० रुपैया सम्म बेच्छौं । कोइला पनि किन्नु पर्छ, दुई टिनको ८–९ सय पर्छ । राम्रो मकै विकेको दिन १४ देखि १५ सय सम्म हुन्छ त्यस मध्ये ४ देखि ५ सय आपंmूलाई आउँछ, त्यसैले घर चलाईरहेको छु’ मनिकाले थपिन् ।
मनिकालाई आफ्नो भन्दा छोरीहरुको चिन्ता छ । कमाउने श्रीमन् बिरामी छन् महिनाको कोठाभाडा ५ हजार तिर्ने गरेको मनिका बताउँछिन् । उनको जुम्लाहा छोरी निकेतन स्कूलमा चार कक्षामा पढ्छन् । मनिका भन्छिन् अहिले त जसोतसो घर चलाईरहेकी छु तर छोरीहरुको भविष्यको चिन्ता लाग्छ । अरु उपाय केही छैन, लकडाउनको समयमा छाक टार्न पनि मुस्किल पर्योे साग बेचेर दिनमा २ देखि ३ सय हुन्थ्यो त्यसैले घर खर्च टार्थे । हामी जस्तो बनिबुतो गरेर खाने लाई सरकारले पनि हेर्देन उल्टै नगर पुलिसहरु आएर हटाउन खोज्छ । दिनको ३० रुपैँया तिर्नेु पर्छ,’ मनिकाले भनिन् ।
मकै पोलेर जिवीका चलाउने महिला अरु पनि छन् । मकै नपाइने याममा भने मौसमी फलफूल, तरकारी, बदाम आदि बिचेर महिलाहरुले आयआर्जन गर्दै आएका छन् ।