
धरान,koshipost.com
न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवस्थामा भेटिएकी महिलाको परपुरुष सँगको सम्बन्धका कारण हत्या भएको आशंका गरिएको छ । धरान १८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको एक कोठामा दुई दिनदेखि बसिरहेका महिला मृत अवस्थामा भेटिएपछि उनको हत्या भएको हुनसक्ने आशंका गरिएको हो ।
होटल सञ्चालक सुशिल जिमीका अनुसार २ दिनदेखि महिला र एक पुरुष होटलमा बसिरहेका थिए । आज बिहान कोठा सफा गर्न कर्मचारी जानेक्रममा कोठामा चुकुल नलगाएको कारण कोठा खोलिएको र महिलाको शव भेटिएको उनले जानकारी दिए । कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महिलासँगै बसेका पुरुष भने फरार रहेका छन् । उनले नै हत्या गरी फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । महिलाको आफन्तजन आएर सनाखत गरेपछि मुचुल्का उठाउने क्रममा मृतकको अनुहार र शरिरमा चोटपटक समेत देखिएको प्रहरीको भनाई छ । ‘आफन्त सम्पर्कमा आएर रोहबरमा मुचुल्काको काम पनि सकियो, शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान लगिएको छ, अनुहार र शरिरमा पनि चोटपटक लागेको देखिन्छ । घटना शंकास्पद छ ।’ प्रहरीले भने
प्रहरीले मृतकसँगै होटलमा बस्न आएका पुरुषकोे खोजी तीब्र पारेको छ । फरार रहेका पुरुषले नाम जीवन मगर र ठेगाना धनकुटा लेखाएका छन् । तर, उनको नाम र ठेगाना गलत लेखाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ हुन् । ती महिलाको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो ।
मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । बिगत केही वर्ष देखी उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्दै आएकी थिईन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
मृतक महिलाको भने छोरा र छोरी आएर सनाखत गरेका थिए । उनको श्रीमान् ब्रुनाइर्मा रहेका छन् । भारतीय सेनाबाट अवकाश पाएपछि उनी ब्रुनाईमा गएका हुन् । मृतकको झोलामा भएको कागजपत्रको आधारमा उनको परिचय र ठेगाना खुलेको थियो । झोलामा पाँचथरको मिक्लाजुङ गाउँपालिका १ ठेगाना रहेको मतदाता परिचयपत्रबाट खुलेको थियो ।