
धरान,koshipost.com
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले अनियामिता गरेको र स्वास्थ्य सेवा सुविधा नदिएको भन्दै केही दिन यता धरानवासीले आन्दोलन गदै आएका छन् । स्थानीयले आन्दोलन चक्राउदै लगेपछि प्रतिष्ठानले वार्तामा आउन पत्राचार गरेपनि घोपा बचाउ आन्दोलनका ठुलो समूह प्रतिष्ठान पुगेपछि अस्पताल निर्देशक एकासी गायव भएका थिए ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले वार्ताको लागि पत्र पठाएको थियो । आइतबार सेभ घोपा क्याम्पको टोली अस्पताल निर्देशक डा.साहलाई भेट्न बुकी फूलसहित प्रतिष्ठानभित्र गएको थियो । निर्देशक साहको २ दिनपछि कार्यकाल सकिदैछ । उनलाई ससम्मान विदाई गर्ने उद्देश्यले टोली अस्पताल प्रशासनमा पुगेपनि कार्यलयभित्र प्रवेश गर्न सुरक्षाकर्मी रोक्दा केही समय तनाव सृर्जना भएको थियो ।
कार्यालयबाट बाहिर निस्कदै गर्दा अस्पताल निर्देशक साहले आन्दोलनकारीहरु देखेपछि फर्किएका थिए । उनी कता गए भनेर आन्दोलनकारीले पत्ता लगाउन सकेनन् । प्रहरीले रोकेको कारण अस्पताल निर्देशकलाई विदाई गर्न नपाएपछि आन्दोलनकारीहरु आक्रोशित भएका थिए । प्रहरीले निर्देशक साहलाई भेट्न नदिएपछि डेन्टल गेटबाहिर धर्नामा बसेका आन्दोलनकारीहरुको ठुलो समूह प्रतिष्ठानमा प्रवेश गर्दा तनाव सृर्जना भएको हो ।

राष्ट्रिय झण्डा, प्ले कार्डसहित प्रतिष्ठानको प्रशासनिक भवन परिसरमा आन्दोलनकारीहरु धर्नामा बसेका थिए । आन्दोलनको प्रमुख अभियन्ता सुदन गुरुङले अस्पताल निर्देशकलाई विदाई गर्न जादा रोकेपछि आक्रोशित धरानबासीहरु भित्रै प्रवेश गरेको बताए । उनले शान्तिपुर्ण आन्दोलन जारी राख्ने जानकारी दिदै भिसिसहितको पदाधिकारी विनाको वार्ता टोलीसँग वार्ता नगर्ने उनको भनाई थियो ।
वीपी प्रतिष्ठानको उपचार सेवा सुधार गर्न माग गर्दै धरानमा ५५ दिनदेनि घोपा बचाउ आन्दोलन जारी छ । हरेक दिन दिउँसो ४ बजेदेखि डेन्टल गेट अगाडि धरानबासीहरुले धर्ना बस्ने गरेका छन् ।