
धरान,koshipost.com
धरानको मेयर हर्क साम्पाङ राई धरानवासीलाई पानी खुवाउन भन्दै शनिबार पकुवा खोला पुगेपछि सयौं जनता जनश्रमदान गर्न पकुवा खोला पुगेका थिए । मेयर साम्पाङ राईले धरान(२० विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धराने जनताले पनि स्वतस्फुर्तरुपमा साथ दिदै आएका छन् ।
पकुवा खोलाबाट थपिएको पानीले धरान–११ र १७ का बासिन्दालाई सहज हुनेछ । त्यस वडालाई फाईदा हुने भएपनि अन्य वडाका बासिन्दाको पनि जनश्रमदान गर्न पकुवा खोलामा आउने गरेको मेयर साम्पाङ राईले बताए । स्वतस्फुर्तरुपमा जनश्रमदान गर्न पुगेका मानिसको नाम खातामा हेर्दा धरान ६ पानबारीका जनता समेत पुगेको देखिएक थिए ।
धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आएको धरान–८ की दुर्गादेवी राईले बताईन् । यस्तै, धरान–१५ बाट आएका दुर्गा मगरले श्रमदान गर्दा धरानबासीले पानी खान पाउने भएपछि जाँगर देखाएको बताए । धरान–६ पानबारीकी समला राईले धरानवासीलाई सहयोग होस् भनेर स्वतस्फुर्तरुपमा आइपुगेको बताइन् ।
शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटेका थिए । यस्तै,वालुवा, सिमेन्ट, पाइप समेत बोकेका थिइ । मित्रीलाई सहयोग गर्न मसला बनाउन, मसला बोक्न पनि सघाएका थिए । केही धरानबासीले खाजा नास्ता संगै चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ समेत बोकेर पुगेका थिए ।