
सुनसरी,koshipost.com
नेकपा माओवादी केन्द्रले समावेशी सदस्यको टुंगो लगाएको मध्ये सुनसरीबाट ४ जना केन्द्रिय सदस्य मनोनित गरेको छ । माओवादी केन्द्रले ३ सय ७३ केन्द्रिय सदस्यको नाम टुंगो लगाएको थियो । आइतबार शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ३ सय ७३ केन्द्रिय सदस्यको नाम टुंगो लगाएको हो । यसअघि माओवादीले प्रतिबद्धता गरेअनुसार समावेशी सहभागितालाई केन्द्रीय समितिमा लागु गरेको पाइन्छ । जसअन्तर्गत महिलाहरूको संख्या ३५ प्रतिशत, दलित १५ प्रतिशत, युवा २० प्रतिशत, मुस्लिम ५ प्रतिशत र अन्य रहेका छन् ।
३ सय ७७ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि चार जनाको नाम खाली राखिएको केन्द्रीय कमिटीमा सुनसरीबाट भने ४ जना मनोनित भएका छन् । संविधानसभा सदस्य अनिता परियार र प्रदेशसभा सदस्यसमेत रहेकी उमिता बराइली पूर्ण केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै, सपना परियार र जाकिर हुसेन सुनसरीबाट वैकल्पिक केन्द्रिय सदस्य मनोनित भएका हुन् ।
माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ । केन्द्रीय कमिटीको बैठकमा भाग लिने, आफ्नो धारणा राख्न पाउने भएपनि वैकल्पिक सदस्यले मताधिकार प्रयोग गर्न नपाउने माओवादीको विधानमा उल्लेख गरिएको छ । यसअघि सुनसरीबाट निर्मल बराल, रामकुमारी चौधरी र किरणकुमार राई केन्द्रीय सदस्य रहेका थिए । योसँगै माओवादी केन्द्रले सुनसरीबाट मात्रै ७ जना केन्द्रीय सदस्य बनेका छन् ।