
धरान, koshipost.com
धरानको मेयर हर्कराज साम्पाङ राईले सर्दु र खर्दुको मुहानबाट खानेपानी थपीरहेको छ । लामो समय देखि धरानबासीले खानेपानीको समस्य खेप्दै आएका कारण त्यस्ता समस्यबाट धरानेवासीलाई मुक्त गराउने उद्देश्यले मेयर राईले अहिले खोला खोल्सीमा बगेर खेर जाने पानीलाई संकलन गरेर ल्याउन लागेको हो ।
धरानमा खानेपाीको समस्य भईरहदा मेयर राईले खानेपाीको मुद्दा लिएर चुनाव जितेका थिए । धरानमा रहेका खानेपानीको पुराना संरचना मर्मत गर्दै नयाँ स्रोत थप्दै धरानवासीलाई प्रयाप्त पानी खुवाउन अहिले मेयर राई अभियान बनाएर लागि परेका छन् । उनको अभियानमा साथ दिन धरानवासी र १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट मानिसहरु श्रमदान गर्न धरान आईरहेका छन् ।
कुवाबाट एक पाइप पानी ल्याएर देखाइसकेका उनले अहिले सर्दु, खर्दु र निशाने खोलालाई ‘तार्गेट’ मा राखेर पानी जम्मा गर्ने अभियानमा छन् । त्यहाँको निर्माण कार्यमा जनताले नै साथ दिँदै आएका छन् । त्यहाँको इन्टेक निर्माणमा होस् वा करिब दुई लाख लिटरको टयाङ्की निर्माणका लागि गिटी कुट्न, बालुवा बोक्न लगायतको श्रमदान गर्न जनता आतुर देखिएका छन् । त्यो सँगै मेयर साम्पाङ आफै श्रमदान गर्न खटिने गरेका छन् । कहिले कार्यालयको काम सकेर होस् वा विदाको जुनसुकै दिनमा पनि उनी श्रमदान गर्न पुगिहाल्छन् ।
शनिबार मेयर साम्पाङ आफैं पाइप तान्न अप्ठ्यारो भीरमा चढेका थिए भने उनलाई साथ दिन उपमेयर अइन्द्रविक्रम बेघा, सयौं सर्वसाधारण पुगेका थिए । सर्वसाधारणले पाइपमात्रै तानेनन् गिटी फुटाउने देखि ढुङ्गा पनि बोके । केही सर्वसाधारण रमित हेर्न समेत पुगेका थिए । शनिबार तानिएको पाइपबाट खर्दुको पानी अप्ठयारो भीर हुँदै दुई लाख लिटरको टयाङ्की निर्माणस्थलसम्म ल्याउन लागेको मेयर राईले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए ।
असारको पहिलो साताबाट प्रत्येक शनिबार खोलाखोल्सीमै रहने र धराने जनतालाई पानी खुवाउने भन्दै जनता उतार्दै आफूसमेत खटिइरहेका छन् । उनको कामलाई स्थानीय युवापुस्तादेखि वृद्धवृद्धासमेतले स्वतस्फुर्त पुगेर साथ दिईरहेका छन् । सर्दु, खर्दु र निशानेलगायत जलाधार क्षेत्रको संरक्षण गर्दै उनी त्यहाँको पानी जम्मा गरेर धरानबासीलाई हिउँदको समयमा खुवाउने योजनामा छन् । हालसम्म सर्दु, निशानेमा सानो टयाङ्की निर्माण भइसकेको छ भने यी दुवै स्थानबाट करिब दुई लाख लिटरको टयाङ्की निर्माणस्थलसम्म पाइपबाट पानी समेत तानेर ल्याई सकिएको छ ।
‘यो टयाङ्कीमा जम्मा गरेको पानीचाहिँ हिउँदमा खुवाउने हो’, उनले भने, ‘यहाँ करिब दुई लाख लिटरको ट्याङ्की गोर्खा पिस फाउण्डेशन नामक संस्थाले बनाइदिने हो, यसले नपुगे बानियाँटारमा ठूलो जलकुण्ड निर्माण गर्नेछौं, त्यसको लागि कार्यपालिकाबाट निर्णयसमेत भइसकेको छ, त्यसपछि क्रमैसँगै कोशीको पानी धरानमा ल्याउने हो ।’
कोशीको पानी ल्याउन सम्भाव्यता अध्ययनमा जुटिरहेको मेयर राईले जानकारी दिएका छन् । मेयर राई आइतबार बिहान नै उप–मेयर संग काठमाडौं जान लागेको समेत जानकारी दिए । यसको लागि प्रदेश र केन्द्रले सहयोग गर्नेमा मेयर राई विश्वस्त छन् । ‘केन्द्रले सहयोग नगरे सिंहदरबारमै पनि धर्ना दिन सक्छु नि’, उनी भन्छन्, ‘तर आशावादी छु, धरानबासीलाई काकाकुलबाट मुक्त गराउन अवश्य सहयोग हुन्छ ।’ काठमाडौं पुगेर खानेपानी मन्त्री र केन्द्रि नेताहरुलाई भेट्ने कार्यक्रम रहेको मेयर राईको भनाई छ ।
https://www.youtube.com/watch?v=INI7A1x_32w&t=1716s