
धरान,koshipost.com
धरानमा एमालेले वैचारिक तथा साङ्ठनिक सुदृढीकरण थालेको छ । सोमबार धरान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो जानकारी दिएको हो । केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सन्चालन गर्ने निर्णय गरेअनुसार धरानमा पनि ग्रासरुट कार्य थालेको पत्रकार सम्मेलनमा नेताहरुले जानकारी दिए । धरानको २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ ।

गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको समूल अन्त्य गरेर नयाँ ढङ्गले पार्टी निर्माण गर्ने बताए । वैशाख ९ पछि यो अभियानको स्वरुप परिवर्तन हुने समेत अध्यक्ष एभेङको भनाई छ ।

अभियानमार्फत एमाले धरानले पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहमा पार्टी सदस्यको वास्तविक तथ्याङ्क, अवस्था, क्रियाशीलताबारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त हुने अपेक्षा लिएको छ । अभियानमार्फत पार्टीको आधारभूत तह सैद्धान्तिक, राजनीतिक विषयमा प्रशिक्षित हुने र स्थानीय तहका अन्तरविरोधको पहिचान गरी समाधानका ठोस विकल्प प्राप्त गर्न सकिने उद्देश्य रहेको छ ।

अभियानपश्चात पार्टीकोे प्रभाव विस्तार हुने, अनुशासन र एकताबद्ध हुने साथै पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने विश्वास नेताहरुले लिएका छन् । पार्टीले धरानको अभियानमा नगर स्तरमा जनवर्गीय सङ्गठनसमेत परिचालन गर्ने गरी कार्य विभाजन गरेको छ ।