धरान / तेस्रो महिला नकआउट रनिङकप फुटबल धरानमा आगमी मंसिर २६देखि शुुरु हुने भएको छ । खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महिला खेलाडीलाई फुटबलमार्फत अघि बढाउने उद्देश्यसहित सञ्चालन गरिँदै आएको वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको तेश्रो संस्करण आयोजना हुने भएको हो । जनपथ जागरण समाज धरान–१६ को आयोजना तथा धरान उपमहानगरपालिका वडा नं. १६ कार्यालयको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी मंसिर २६ गतेदेखि पौष ४ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समाजले २०८१ सालदेखि धरान वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामार्फत स्थानीय तहमा महिला फुटबल खेलाडी उत्पादन गर्ने, उनीहरूको खेलकौशल विकास गर्ने र क्रमशः जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन के.सी.ले बताए । यस वर्ष १२ वटा वडाले सहभागिता जनाउने भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष के.सी.का अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ९० हजार नगद सहित आकर्षक रनिङ शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार नगद रु ४५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूका लागि रु ५० हजार तथा सम्पूर्ण प्रतियोगिताभरका ‘प्लेयर अफ द म्याच’ का लागि रु ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न १२ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
दोस्रो संस्करणको आय–व्यय सार्वजनिक, ६ लाख बढी बचत
तेस्रो संस्करणको तयारीमा जुटेको जनपथ जागरण समाजले दोस्रो संस्करणको प्रतियोगिताको आय–व्यय विवरण समेत सार्वजनिक गरेको छ । अघिल्लो वर्षको ९४ हजार ६ सय ९६ बैंक मौज्दातसहित संस्थासँग कुल १४ लाख ७० हजार ५१० रुपैयाँ उपलब्ध रहेको संस्थाका अध्यक्ष केसीले बताए । उनका अनुसार उक्त रकममध्ये दोस्रो महिला फुटबल प्रतियोगिताको आयोजना तथा समापनका लागि ७ लाख ५ हजार ४२६ रुपैयाँ खर्च भएको छ । संस्थाले सञ्चालन गरेका विभिन्न सामाजिक गतिविधि तथा अन्य कार्यक्रमका लागि १ लाख ८ हजार २१० रुपैयाँ खर्च भएको छ ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ हजार २१० रुपैयाँ खर्च भएको छ । यी सबै खर्च कटाएर आर्थिक वर्ष २०८२÷०८३ को अन्त्यसम्म संस्थाको बैंक खातामा ६ लाख ४३ हजार ६६४ रुपैयाँ मौज्दात रहेको अध्यक्ष केसीले पत्रकार सम्मेलनमा जानरकारी दिए ।

जनपथ जागरण समाजले महिला फुटबलको विकाससँगै सामाजिक क्षेत्रमा पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम, रक्तदान, विपन्न तथा न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग तथा पछाडि परेका परिवारलाई राहत वितरण जस्ता कार्य संस्थाले गर्दै आएको जनाएको छ ।



















