धरान/ धरान खेलकुद मञ्चको आयोजननामा धरानमा पहिलो पटक खेलकुुद महोत्सव हुने भएको छ ।  खेलकुदको शहर भनिँदै आएको धरानमा पहिलो पटक धरान खेलकुद महोत्सव हुने भएको हो । शनिवार मञ्चले पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको छ । धरान खेलकुद महोत्सव मङ्सिर २५ देखी पौष १० गते सम्म धरान रङ्गशालाको तल्लो मैदानमा सञ्चालन हुुने आयोजकले पत्रकार सम्मेलनमाा जानकारी गराए । धरान स्कुल ओलम्पिक माघ ५ देखी १२ गते सम्म सञ्चालन हुने महोत्सवका संयोजक कुवेर मान राईले बताए ।

१५ दिन सम्म सञ्चालन हुने खेलकुद महोत्सव धरानलाई खेलकुदको शहरका रूपमा चिनाउने उदेश्यले पहिलो पटक महोत्सवको आयोजना गरिएको खेलकुुद मञ्चका अध्यक्ष किशोर राईले बताए । ‘यो व्यापारिक महोत्सव नभई विशुद्ध खेलसँग सम्बन्धित महोत्सव हुनेछ ।’ अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा बोल्ने क्रममा जानकारी गराए । महोत्सव धरान स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको राईले बताए । 

महोत्सव अवधिभर पूर्व–वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पियनहरूले जितेका पदक र खेल सामग्रीहरूको विशेष प्रदर्शनी हुनेछ । महोत्सवका बिच वर्ष खेलाडी, प्रशिक्षक र लिजेन्ड खेलाडी सम्मान कार्यक्रम राखिएको छ । फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरी लगायत खेलका थिम स्टल पनि रहनेछन् । प्रदर्शनी र प्रतियोगिताले धरान खेलकुदको शहरको भन्ने सन्देश देश–विदेशमा प्रवाह गर्नेछ ।

301237839-775165910202031-1577179248258595507-n-1

महोत्सवका स्टलहरूमा सशुल्क खेलकुद सम्बन्धी खेलहरू खल्न पाइने छ । सबै खेलहरू खेलकुदसँग सम्बन्धित हुनेछन् । प्रत्येक साँझ सांस्कृतिक, साङ्गीतिक कार्यक्रमहरू हुनेछन् । महोत्सवमा आउनेहरूका लागि खानपान निम्ति आदिवासी जातीय परिकारको स्वाद लिन स्टलहरू राखिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । व्यावसायिक खेलकुद विकास, खेलाडीको सम्मान र खेलकुदको नगर पहिचानलाई औपचारिक बनाउने महोत्सव समापनको अवसरमा धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्ने प्रस्ताव अघि बढाइएको अध्यक्ष राईले बताए । उनले भने ‘हामीले यसलाई पर्यटनसँग जोडेका छैनौँ, व्यापार, व्यवसायसँग जोडेका छैनौँ यसलाई विशुद्ध खेलकुदसँग सम्बन्धित पहिलो महोत्सवको रूपमा आयोजना गर्ने तयारी गरेका छौँ ।’

खेलकुद महोत्सवबाट सङ्कलित रकम धरान–१७ स्थित सप्तरङ्गी पार्कमा खेलकुद स्मारक निर्माणमा खर्च गरिने योजना धरान खेलकुद मञ्चको रहेको पत्रकार सम्मेलनमा बताइएको छ । पार्क एन्फा टेक्निकल सेन्टर नजिक भएकोले खेलकुद पर्यटनका लागि स्मारक महत्त्वपूर्ण रहने मानिएको छ । अध्यक्ष राईका अनुसार पार्कमा धरान तथा नेपालका लागि अन्तर्राष्ट्रिय पदक हासिल गर्न सफल, सहभागी बनेका लेजेण्ड खेलाडीहरूको शालिक स्थापना गरिने छ । सप्तरङ्गी पार्कको विकासलाई खेलकुदसँग जोड्न, सञ्चालन गर्न धरान उपमहानगरपालिकासँग प्रस्ताव गर्न मञ्चले तयारी गरेको उनले बताए ।   

महोत्सवसँगै करिब ६ वर्ष देखी रोकिएको स्कुल ओलम्पिक आयोजना गर्ने तयारीमा पनि खेलकुद मञ्च लागेको पत्रकार सम्मेलनमा बताइएको छ । धरान उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजना हुने स्कुल ओलम्पिक तत्कालीन अवस्थामा कोरोना महामारीका कारण हुन सकेको थिएन । पछिल्लो समय उपमहानगरपालिका खेलकुद समिति गठन हुन नसक्दा स्कुल ओलम्पिक रोकिदैं आएको थियो । यसपालि धरान खेलकुद मञ्चको आयोजनामा महोत्सव लगत्तै माघ ५ देखी १२ गते सम्म सञ्चालन गरिने भएको हो ।

अध्यक्ष किशोर राईका अनुसार स्कुल ओलम्पिक मेयर कपमा धरानका विद्यालयहरूका विद्यार्थीहरूलाई ओलम्पिकको पूर्वाभ्यासका रूपमा आयोजना गरिने छ । ओलम्पिकमा कुल १२ खेल विधामा प्रतिस्पर्धा गराइने छ । उनले ओलम्पिकको नियम, पद्धति र प्रक्रियाको पूर्व अभ्यास गराएर स्कुले खेलाडीहरूलाई प्रतिस्पर्धामा सामेल गराइने बताउँदै भने ‘स्कुल ओलम्पिक भविष्यमा विश्व ओलम्पिकमा खेल्न जाने प्रोत्साहन र अभ्यासका लागि आयोजना गरिने प्रतियोगिता हो ।’