धरान / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा आबद्ध नेपाल लोकतन्त्रवादी किराँत राई संघको पहिलो केन्द्रीय महाधिवेशन धरानमा आयोजना गरिने भएको छ । संघले शनिबार धरानमा पत्रकार सम्मेलन गरी यही भदौ १५ गते सोमबार पहिलो केन्द्रीय महाधिवेशन धरानमा गर्न लागेकोे जानकारी दिएको हो । महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय नेता तथा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीको प्रमुख आतिथ्यतामा र कांग्रेसका केन्द्रिय नेताहरुको विशिष्ठ आतिथ्यतामा समुद्घाटन गरिने अध्यक्ष आनन्द सन्तोषी राईले जानकारी दिए ।
संघले महाधिवेशनको उद्घाटन सोमबार बिहान ९ बजे गर्ने जनाएको छ । उद्घाटन कार्यक्रम सम्पन्न भएपछि बन्दसत्र शुुरु हुने र बन्दसत्रमा संघको विधान संशोधन तथा परिमार्जन, संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बन्दशत्रपछि संघको नयाँ नेतृत्व गठन प्रक्रिया अघि बढाइने र महाधिवेशन समापन गरिने अध्यक्ष राईले पत्रकार सम्मेलनमा बताए । संघले महाधिवेशनलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा ऐतिहासिक महत्वको कार्यक्रमका रूपमा लिएको जनाएको छ । किराँत राई संघले आफ्नो राजनीतिक विचार, दर्शन र सिद्धान्त नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टीको विधान तथा निर्देशनअनुसार देश र जनताको सेवामा समर्पित भएर काम गर्दै आएको अध्यक्ष राईले बताए ।
प्रेस विज्ञप्तिमार्फत संघले २०८३ भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीबाट प्रभावित परिवार तथा पीडितप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा संघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । संघले नेपाली कांग्रेसलाई अझ देशभक्त, जनपक्षीय र गौरवशाली बनाउन आदिवासी जनजाति समुदायको योगदान महत्वपूर्ण रहेको अध्यक्ष राईले पत्रकार सम्मेलनमा बताए ।
राई, लिम्बू, मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायका व्यक्तिहरूले नेपालको राजनीतिक आन्दोलन, संघर्ष तथा परिवर्तनमा महत्वपूर्ण योगदान दिएको अध्यक्ष राईकोे दाबी छ । संघले आगामी दिनमा पार्टी तथा राज्यको नेतृत्वमा जिम्मेवारी लिन सक्षम हुने गरी नयाँ पुस्तालाई तयार गर्नुपर्नेमा समेत जोड दिएको छ । नयाँ पुस्ताको योग्यता, क्षमता र कुशलता विकास गर्दै नेतृत्व निर्माण गर्ने उद्देश्य महाधिवेशनले लिएको संघको अध्यक्ष राईको भनाइ छ । पहिलो महाधिवेशनलाई सफल बनाउन सञ्चारकर्मीहरुकोे सहयोग र सकारात्मक भूमिकाको अपेक्षा गरिएको अध्यक्ष सन्तोषी राईले बताए ।


















