विराटनगर/ कोशी प्रदेशमा भएको कामलाई देखिने,सुुनिने र अनुुभव गरिने गरी लैजाने प्रयत्न गरेको मुुख्यमन्त्री कार्कीले बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको अवसरमा उल्लेख्य प्रगति हासिल गरेको बताएका छन्। प्रदेश सरकार स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुुख्यमन्त्री कार्कीले यस्तो बताएका हुुन् । प्रदेशमा भएका कामलाई नजरअन्दाज गरी नकारात्मक प्रचार गरिएको उल्लेख गर्दै त्यसका बीच पनि सरकारले परिणाममुखी काम अघि बढाएको मुख्यमन्त्रीको कार्कीको दाबी छ ।
शुभकामना सन्देशमा नेपालको संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेश सभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते कोशी प्रदेश सरकार गठन भएको उल्लेख गर्दै हाल प्रदेश सरकार नवौं वर्षमा प्रवेश गरेको जनाइएको छ। सात दशक लामो संघर्ष र ऐतिहासिक जनआन्दोलन २०६२र६३ को जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको कार्कीले बताएका छन्।

भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको उनको दाबी छ। प्रदेश संरचनामाथि प्रहार हुने तथा प्रदेश सरकारका कामलाई नजरअन्दाज गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताएका छन्। साथै आवश्यक कानुन निर्माण तथा कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिँदै अनुभव अभिवृद्धि गर्दै काम भइरहेको उनले स्पष्ट पारेका छन्।
‘प्रदेशले केही गर्न सक्दैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्दै प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनबाट करिब दुई खरब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भई कार्यान्वयनको चरणमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको सन्देशमा उल्लेख गरिएको छ। त्यस्तै पर्यटन वर्ष घोषणा तथा पदमार्ग निर्माणमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा र्पुयाउने प्रयास भइरहेको, सडक सञ्जाल विस्तार र पुल निर्माणलाई प्राथमिकतामा राखिएको तथा कोरोना महामारीका समयमा प्रभावकारी भूमिका निर्वाह गर्दै जनताले अनुभूति गर्ने सरकारको रूपमा काम गरिएको पनि जनाइएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई देखिने, सुनिने र अनुभूति गर्न सकिने सरकारका रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



















