धरान / चौथो गोर्ख ट्रल ब्लेजर दौडमा उमेश थापा र प्रिया तामाङ बजेता भएका छन् । गोर्खा सिमेट्रीज ट्रष्ट नेपाल, धरानको आयोजनामा आयोजित चौथो संस्करणको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगितामा थापा र तामाङ विजेता भएका हुन् । प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ ।  विश्वका विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा आयोजना गरिएको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ भारत दार्जिलिङकी प्रिया तामाङ विजेता बनेकी हुुन् । 

९ किलोमिटर दूरीको प्रतिस्पर्धामा उमेश थापाले २५ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । उनले उपाधिसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिलातर्फ प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हात पारिन् र उनले पनि २० हजार रुपैयाँ पुरस्कार जितिन् । प्रिया यसअघि धरान रनमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेकी धाविका हुन् ।

301237839-775165910202031-1577179248258595507-n-1

पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा रहे भने अमिर लिम्बु २५ मिनेट ५४ सेकेन्डसहित तेस्रो भए । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गरे । महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दोस्रो र दीप बस्नेत ३० मिनेट ५५ सेकेन्डमा तेस्रो भइन् । उनीहरूले पनि आफ्नो स्थानअनुसार नगद पुरस्कार तथा सम्मान प्राप्त गरे ।

भेट्रान समूहमा पनि प्रतिस्पर्धा रोचक रह्यो । पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । विजयकुमार राई दोस्रो र बिमान राई तेस्रो स्थानमा रहे । महिलातर्फ जमुना लिम्बुले ४२ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै पहिलो भइन् भने कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायत विभिन्न जिल्लाबाट ६ सयभन्दा बढी धावक-धाविकाको सहभागिता रहेको आयोजकले जनाएको छ । दौड धरान १८ को रत्नचोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन नगरका कार्यवहाक प्रमुख अईन्द्रविक्रम बेघाले गरेका थिए । विष्णुपादुकास्थित भन्ज्याङमा सम्पन्न समापन समारोहमा २० नं. वडाका अध्यक्ष पदम बहादुर लिम्बुले विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।