धरान / इलाका प्रहरी कार्यालय धरानमा ३८ मुद्दा दर्ता भएको छ । २०८२ फागुन महिनाको अवधिमा विभिन्न प्रकृतिका धरान ईलाका प्रहरी कार्यालयमा कुल ३८ वटा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी भिषण बाबु राईले जानकारी दिएका छन् । कार्यालयद्वारा सार्वजनिक विवरण अनुसार लागू औषध सम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका भएको डीएसपी राईले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्राप्त तथ्यांक अनुसार लागू औषध सम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन् भने आत्महत्या सम्बन्धी ८, बैंकिङ कसुर ४, ठगी ४, भवितव्य ज्यान ५, झुण्डी मृत्यु ज्यान २, अमानवीय व्यवहार २ तथा सवारी ज्यान, बहुविवाह र कर्तव्य ज्यान सम्बन्धी १/ १ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी प्रहरीले लागू औषध बरामद अन्तर्गत सबै भन्दा बढी गाँजा ट्रामोल, स्पास्पेन, डाइजेपाम लगायतका औषधी तथा गाँजा समेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीमध्ये १०६७ किलो ६०० ग्राम गाँजा ट्रामोल ५० एमजीका १४६८ क्याप्सुल, स्पास्पेन १०८८ ट्याब्लेट, डिकोलिक ४०५ ट्याब्लेट स्पास्मो प्रोक्सिवन २८८ क्याप्सुल अन्य लागू औषधजन्य सामग्री रहेका छन्।

प्रहरीका अनुसार लागू औषध ओसारपसारमा प्रयोग भएका दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । यस अवधिमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनलाई अदालतबाट तोकिएको ३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । शान्ति सुरक्षालाई थप सुदृढ बनाउन इलाका प्रहरी कार्यालय धरान तथा मातहत युनिटहरूबाट ३ वटा एलआरपी र १३० वटा एसआरपी परिचालन गरिएको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाह अन्तर्गत फागुन महिनाभर ५१८ जना -महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक) लाई विभिन्न सेवा प्रदान गरिएको कार्यालय प्रमुुख डीएसपी राईले जानकारी दिएको छ । नियमित निगरानी, गस्ती तथा विशेष अप्रेसनका कारण धरान क्षेत्रको शान्ति सुरक्षामा सुधार आएको डिएसपी राईले बताए । आगामी दिनमा पनि लागूऔषध नियन्त्रण तथा अपराध नियन्त्रणका गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता डिएसपी राईले गरेका छन् ।




















