काठमाडौँ / काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ६५ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ४५ ओटा मोटरसाइकल र २० ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । प्रहरीको सक्रियताका कारण हराएका धनमाल फिर्ता पाउँदा नागरिकमा सुरक्षा निकायप्रति विश्वास बढ्ने देखिएको छ ।

आज बुझाइएका ६५ ओटा सहित चालु आर्थिक वर्षको गत साउन महिना यता कुल ४५४ ओटा सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । यसै क्रममा चोरीका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ । उहाँले थप सुरक्षाका लागि जीपीएस -GPS_ जडान गर्न र मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न समेत विशेष आग्रह गर्नुभयो ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था रहेको




















