ईनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र सिटी सफारी एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेल रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका पौडेल कार्यालयको कामका लागि कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जाँदै थिए ।

शुक्रबार राति करिब १० बजे प्र.१–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी र स ११ प २५०० नम्बरको १५० सिसी बजाज मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, भोक्राहा लगिएकोमा चिकित्सकले राति १०ः२० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भाण्टाबारीको टोली घटनास्थलमा पुगेर दुवै सवारी साधन नियन्त्रणमा लिई कार्यालयमा राखेको छ । सिटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल चालकले सडकमा पर्याप्त ध्यान नदिई तीव्र गतिमा चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।




















