धरान / वराह सहकारी पीडित समन्वय समिति, धरान–सुनसरीले वराह सहकारीबाट पीडित बनेका सम्पूर्ण बचतकर्ताहरूलाई लक्षित गर्दै महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । सहकारी पीडित समन्वय समितिले बराह सहकारीबाट पीडित बनेका बचतकर्ताहरूलाई आफ्नो रकम फिर्ता गराउन भइरहेको पहल र कानुनी प्रक्रियाबारे जानकारी गराउँदै धैर्य र एकताका साथ अगाडि बढ्न आग्रह गरेको छ । समितिले जारी गरेको सूचनामा पीडितहरूको रकम फिर्ताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको उल्लेख गरिएको छ । सहकारीका सञ्चालकहरूविरुद्ध विभिन्न कानुनी प्रक्रिया अघि बढेको भए पनि पीडितहरूले हालसम्म प्रत्यक्ष रूपमा रकम प्राप्त गर्न नसकेको अवस्था रहेको प्रेस विज्ञप्तीा भनिएको छ ।
धरान उपमहानगरपालिकाले सहकारी व्यवस्थापन तथा समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि समितिले त्यसलाई सकारात्मक कदमका रूपमा लिएको हो । पीडितहरूको हकहित सुनिश्चित गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको पनि समितिले जनाएको छ । समितिले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचना समितिबाट मात्र प्राप्त गर्न अनुरोध गरेको छ । पीडितहरूको रकम सुरक्षित फिर्ता गराउने लक्ष्यसहित समिति सक्रिय रहेको उल्लेख गर्दै सबै पीडितलाई एकजुट भई सहयोग गर्न अपिल गरिएको छ ।

बराह सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता, सम्पत्ति व्यवस्थापन तथा कानुनी प्रक्रियाको विषय अझै सरोकारवालाबीच छलफल नै भइरहेको समितिले विज्ञतीमा उल्लेख गरेको छ । समितिद्वारा जारी सूचनामा वराह सहकारीका पीडितहरूको डुबेको रकम फिर्ता दिलाउने उद्देश्यका साथ विभिन्न पहल भइरहेको उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाले वराह सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेपछि व्यवस्थापन समितिमार्फत समस्या समाधान प्रक्रिया अघि बढाउनुपर्ने भए पनि लामो समयसम्म अपेक्षित प्रगति हुन नसकेको समितिको भनाई छ ।
समितिले धरान उपमहानगरपालिका, कार्यबाहक नगरप्रमुख, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र समन्वय गर्दै आएको जनाएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग समेत भएको छलफलमा सहकारी पीडितहरूको समस्या समाधानका लागि कानुनी प्रक्रिया र सरकारी पहल आवश्यक रहेको बताईएको छ ।
समितिले सम्पूर्ण पीडितहरूलाई एकताबद्ध भई समितिको अभियानमा सहकार्य गर्न आग्रह गर्दै सबैको सहयोगबाट मात्रै समस्या समाधानको बाटो खुुुल्ने विश्वास व्यक्त गरेको छ । उक्त सूचनामा समितिका अध्यक्ष श्याम प्रसाद ढकाल, द्वितीय उपाध्यक्ष विष्णु कुमार राई तथा सचिव नरेन्द्र कुमार इङ्नामको हस्ताक्षर भएको विज्ञप्ति सार्वजनिक गरिएको छ ।




















