धरान / हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकारी र धरान–१५ का वडा अध्यक्षवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हिबिस्कस अग्रेजी विद्यालय धरान–१५ का निर्वाचित हिबिस्कस बाल क्लबका नयाँ कार्यसमितिका पदाधिकारीहरू र धरान उपमहानगरपालिका वडा नं.–१५ का वडा अध्यक्ष नरेश कुमार इवारमवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष इवारमले बालबालिकाहरूको हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य राखेका थिए । कार्यक्रममा हिबिस्कस बाल क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो परिचय प्रस्तुत गर्दै आगामी दिनमा विद्यालय तथा समुदायमा बालमैत्री गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडा अध्यक्ष इवारमले बाल क्लबहरू बालबालिकाको नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास दिलाएका थिए । विद्यालय र वडा कार्यालयबीचको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले बालबालिकाहरूलाई स्थानीय सरकारसँग प्रत्यक्ष परिचित गराउनुका साथै उनीहरूमा नागरिक चेतना, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए ।
विद्यार्थीहरुलाई स्थानीय सरकारले दिने सेवा सुविधा र स्थानीय तहबाट बाल अधिकारका बारेमा संचान हुुने कार्यहरुको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका निर्देशक गंगाराम राईले बताए ।




















